तपाईँ सुन्दै हुनुहुन्छः

आवास बीमा कार्यक्रम लागू गर्दै नेपालगञ्ज उपमहानगरपालिका

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले आवास बीमा कार्यक्रम लागू गर्ने भएको छ । 

नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा स्थायी बसोबास गर्ने व्यक्ति र परिवारका हकमा विपद दुर्घटना बीमा र जोखिमग्रस्त क्षेत्रमा रहेका निजी आवासीय भवनहरूको बीमा सम्बन्धि कार्यलाई व्यवस्थित गर्न उपमहानगरपालिकाले विपद्‌ जोखिम बीमा सम्बन्धि कार्यविधि २०८० बनाएको छ ।

पहिलो चरणमा वडा नम्बर ३ र ७ मा पाइलटिंगका रुपमा आवास जोखिम बीमा लागू गर्न लागिएको नगर प्रमुख प्रशान्त विष्टले बताउनुभयो । वडा नम्बर ३ र ७ मा बाक्लो बस्ती तथा जोखिमयुक्त घरहरू बढी भएकाले सुरुवाती चरणमा यी वडाहरू छनौट गरिएको उहाँले बताउनुभयो । 

आवास बीमा कार्यक्रम अन्तर्गत बीमा शुल्क बापत १५ लाखसम्मको रकम उपलब्ध गराइनेछ ।

विपद्को कारण क्षति भएको सम्पूर्ण भवन भत्केको, नष्ट भएको भवनहरूका जोखिमग्रस्त क्षेत्र आवास बीमा अन्तर्गत बीमा गरिने भवनको बीमाङ्क रकम प्रति भवन रु.१५ लाखसम्म कायम गरिएको छ । 

१५ लाखभन्दा बढी मूल्यको बीमा गर्नु र गराउनुपर्ने अवस्था आएको खण्डमा उपमहानगरपालिकाले १५ लाखको पर्ने बीमाको प्रिमियम रकम उपलब्ध गराई सोभन्दा बढीको बीमाङ्क रकमको हकमा स्वयं घर धनीले सम्बन्धित बीमा कम्पनीहरूलाई उपलब्ध गराउनुपर्नेछ ।

प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले जनघनत्वका आधारमा छनौटमा परेका वडाहरूमा जोखिम तथा क्षमता वृद्धि सम्बन्धि कार्यविधि, निर्जीवन बीमा कार्यक्रमका लागि कार्यविधि र बजेट व्यवस्थापन लगायतका विषयमा योजनाहरू निर्माण गरी अगाडि बढेको बताउनुभयो । 

नेपालगञ्जका साँघुरा गल्लीहरूमा सहज आवागमनका लागि मोटरसाइकल दमकलको व्यवस्था गरिएको प्रमुख प्रशासकीय अधिकृत  रिजालले जानकारी दिनुभयो । 

युनिसेफका नरेश निदालले पश्चिम नेपालमा आउन सक्ने भूकम्पको अवस्थालाई मध्यनजर गर्दै नेपालगञ्जका केही वडाहरूलाई छनौट गरी कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । ती वडाहरूमा विपद र भूकम्पको बुझाईको अवस्था थाहा पाउन लक्षित समूह छलफल, विपद् प्रतिकार्यका लागि दक्ष स्वयंसेवक तयार, वडा नम्बर ३ र ७ का सबै घरहरूको भौतिक अवस्था सर्भे, स्थानीय आपतकालीन कार्यसञ्चालन केन्द्र सञ्चालन लगायतका गतिविधि भइरहेको आपतकालीन कार्यसञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जानकारी दिनुभयो ।‌

युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ र युएन ओमनको साझेदारीमा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको प्राविधिक सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकामा सहरी विपद तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर प्रोजेक्ट) सञ्चालनमा छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button