तपाईँ सुन्दै हुनुहुन्छः

ढलमा खसेर बेपत्ता भएका बालकको खोजी गर्न र परिवारलाई राहत दिन समितिको निर्देशन

काठमाडौँ । प्रतिनिधि सभा, पूर्वाधार विकास समितिले साउन ७ गते सामाखुसीको ढलमा खसेर बेपत्ता भएका बालक विधान आलेमगरको खोजी गर्न र पीडित परिवारलाई राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ । 

समितिको आज बसेको बैठकले काठमाडौँ उपत्यकाको ढल व्यवस्थापनका लागि अल्पकालिन, मध्यकालिक र दीर्घकालीन योजना तयार गर्न शहरी विकास मन्त्रालयलाई निर्देशन दिएको छ । 

यसैगरी समितिले रिङरोड विस्तार आयोजना अन्तर्गत अस्थायी भएपनि ढल निकासको व्यवस्थापन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ । 

बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले उपत्यका भित्र सडक, ढल, पूर्वाधार विकास लगायतका काम फरक फरक निकायले हेर्ने र कार्यक्षेत्र आफ्नो होइन भनेर पन्छिने प्रवृत्तिको अन्त्य गर्न सबैलाई समितिले एक ठाउँमा ल्याएर छलफल गरी निर्देशन दिनुपर्ने बताउनुभयो ।

उहाँले बाढी पहिरो लगायतका कारण नारायणगढ मुग्लिन, मध्य पहाडी लोकमार्ग, अरनिको राजमार्गलगायतका सडक अवरुद्ध नहोस् र मानवीय क्षति नहोस् भनेर मन्त्रालय जिम्मेवार भएर काम गरिरहेको पनि बताउनुभयो ।

बैठकमा सांसदहरुले उपत्यकाभित्र ढल निकासको विकराल समस्या रहेको, काम शुरु गरेर बीचमा नै छोडिदिने समस्या रहेको, सडकमा खाल्डाखुल्डी नपुरेका कारण सवारी दुर्घटना भई मानवीय क्षति हुने गरेको भन्दै यसको न्यूनीकरणका लागि समयमा नै ध्यान दिनु पर्नेमा जोड दिनुभयो ।

सांसदहरुले काम गरेर पनि समयमानै भुक्तानी नपाएको भनेर आन्दोलनरत निर्माण व्यवसायीको समस्या समाधान गर्नुपर्ने, हेटौडा लगायतका क्षेत्रमा भइरहेको सडक विस्तारमा देखिएको समस्या समाधान गर्नु पर्ने, वर्षाको समयमा काठमाडौँका सडक डुब्ने, ढल थुनिने र आवतजावतमा देखिने अस्तव्यस्ततालाई हटाउन आवश्यक रहेको औँल्याउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button