तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिम प्रदेशमा १ वर्षमा १ लाख १२ हजारभन्दा बढी सवारी साधन कारबाहीमा

टीकापुर कैलाली । सुदूरपश्चिम प्रदेशमा १ वर्षमा १ लाख १२ हजार ६५५ सवारी साधन कारबाहीमा परेका छन् । 

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार गएको आर्थिक वर्ष २०७९÷०८० मा एक लाख १२ हजार ६५५ सवारी साधन कारबाहीमा परेका हुन् ।

१ लाख १२ हजार ६५५ सवारी साधन कारबाहीमा पर्दा ६ करोड ४३ लाख, ७० हजार राजश्व सङ्कलन भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । सबैभन्दा बढी मोटरसाइकल ४३ हजार ६४६ वटा कारबाहीमा पर्दा २ करोड ५३ लाख ३७ हजार ५ सय रुपैयाँ राजश्व सङ्कलन भएको छ । 

१ वर्षको अवधिमा २६ हजार ३३७ जिप कार, १५ हजार ९५ ट्रक, १३ हजार ४६१ ट्याक्टर, ५ हजार ३३७ बस र ८ हजार ७७९ अन्य सवारी साधन कारबाहीमा परेका छन् । 

सवारी साधन कारबाहीको दर हेर्दा वर्षेनी बढिरहेको छ । आर्थिक वर्ष २०७८÷०७९ को तुलनामा गएको आर्थिक वर्ष २०७९÷०८० मा १५ हजार ५४८ सवारी साधन बढी कारबाहीमा परेका देखिन्छन् । यसबाट १ करोड, १ लाख ७६ हजार रुपैयाँ बढी राजश्व सङ्कलन भएको छ । 

अघिल्लो आर्थिक वर्षमा २०७८÷०७९ मा ९७ हजार १०७ सवारी साधन कारबाहीमा पर्दा ५ करोड, ४१ लाख, ९४ हजार रुपैयाँ राजश्व सङ्कलन भएको थियो । 

यस्तै मादक पदार्थ सेवन गरी सवारी चलाउँदा एक वर्षको अवधिमा ३ हजार ६४६ जनालाई कारबाही भएको छ । उक्त कारबाहीबाट ३६ लाख ४७ हजार रुपैयाँ राजश्व सङ्कलन भएको छ । अघिल्लो आर्थिक वर्षमा २०७८÷०७९ मा एक हजार ६८६ जनालाई मादक पदार्थ सेवनको कारबाही हुँदा १६ लाख, ८६ हजार रुपैयाँ राजश्व सङ्कलन भएको थियो । 

गत आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेशमा २५२ सवारी दुर्घटना भएका छन् । २५२ सवारी दुर्घटना हुँदा १७७ जनाको मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ । दुर्घटनामा परी १९७ जना गम्भीर घाइते भएका छन् भने २७६ जना सामान्य घाइते भएका छन् । 

अघिल्लो आर्थिक वर्ष २०७८÷०७९ मा ५०१ सवारी दुर्घटना हुँदा १९६ जनाको मृत्यु भएको थियो भने ३९५ जना गम्भीर घाइते र ६०६ जना सामान्य घाइते भएका थिए । ट्राफिक प्रहरीको सक्रियतामा ट्राफिक नियम विपरीत हिँड्ने सवारी साधनलाई भएको कारबाही र जनचेतनामूलक कार्यक्रमले अघिल्लो वर्षको तुलनामा पछिल्ला वर्षहरुमा दुर्घटनामा केही कमी आएको पाइएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button