तपाईँ सुन्दै हुनुहुन्छः

नयाँ जहाज छिट्टै आउँछ : मन्त्री किराती

बनियानी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाली ध्वजा बाहक नयाँ जहाज छिट्टै खरिद गरिने बताउनुभएको छ ।

प्रेस सेन्टर नेपाल झापाले बिर्तामोडमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री किरातीले भूपरिवेष्टित राष्ट्रको समृद्धिका लागि जहाज विकास महत्त्वपूर्ण हुने भएकाले थप जहाज ल्याउन लागिएको बताउनुभयो ।

‘हाम्रो जस्तो भूपरिवेष्टित मुलुकको समृद्धिका लागि जहाज महत्त्वपूर्ण हुँदोरहेछ’, उहाँले भन्नुभयो, ‘तीनवटा नयाँ र दुईवटा पुराना जहाज खरिद प्रक्रियामा रहेको छ, छिट्टै ती जहाज आउँछ, तर कमिसन आउँदैन ।’ नेपाली जहाजकै ‘कनेक्सन फ्लाइट’बाट नेपाली उत्पादनहरु विदेश निर्यात गरेर समृद्धि हासिल गर्न सकिने उहाँको भनाइ छ ।

मन्त्रालय सम्हालेपछि भ्रष्टाचारका प्वालहरु टाल्ने काम गरिरहेको उहाँको भनाइ छ । चार अर्ब ऋण तिरेर नयाँ जहाज किन्न सक्ने अवस्था सिर्जना भएको उहाँले बताउनुभयो । ‘देशको ठूलो समस्या भ्रष्टाचार हो, यसको अन्त्य जरुरी छ’, उहाँले भन्नुभयो । मन्त्री किरातीले पर्यटनसम्बन्धी राष्ट्रिय नीति बनाउन सरकार लागि परेको बताउनुभयो । नेपाली एयरपोर्ट सुरक्षित बनाउन कडाइका साथ लाग्नुपर्नेमा उहाँको थियो ।

कोशी प्रदेश सरकार गठनमा देखिएको समस्याप्रति लक्षित गर्दै मन्त्री किरातीले प्रदेश सरकार गठन सबै दलको सहमतिका आधारमा हुनुपर्नेमा जोड दिनुभयो । ‘मुलुक अहिले विषम परिस्थितिबाट गुज्रिरहेकाले सङ्घ र प्रदेश सरकार सहमतिकै आधारमा बन्नुपर्छ’, उहाँले भन्नुभयो, ‘कोही प्रतिपक्ष नभई समग्र मुलुकको विकासमा सबै दल एकजुट हुुनुपर्छ ।’

प्रतिक्रिया राख्नुहोस्

Back to top button