सुशासन दिन नसके जनतामा असन्तुष्टि आउँछ : नेता कोइराला
विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वडा तहदेखि नै सुशासन दिन नसके जनतामा असन्तुष्टि आउने बताउनुभएको छ ।

मोरङको बूढीगंगा गाउँपालिका १ को नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गर्दै नेता कोइरालाले वडा तहदेखि नै सुशासन दिन सके मात्रै जनताले सङ्घीयताको महसुस गर्ने बताउनुभयो ।
उहाँले स्थानीय तहका जनप्रतिनिधिहरूले सुविधाभोगी नभई जनतालाई सहज रुपमा सेवा प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो । जनताले अपेक्षा गर्ने र सधैँ भेट्ने सरकारले जनतालाई राम्रो डेलिभरी र सुशासन दिन सकेन भने सङ्घीयतामाथि नै प्रश्न उठ्न सक्ने उहाँको भनाइ छ ।
सुशासन नभएकै कारण धेरै स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीहरूमाथि भ्रष्टाचारको आरोप लागिरहेको दृष्टान्त पनि उहाँले दिनुभयो ।

त्यस अवसरमा जग्गादाता मोहनप्रसाद कोइराला, हरिप्रसाद निरौला, नगेश कोइराला, खिलानाथ निरौला, महेशप्रसाद कोइराला, मदन कोइराला र प्रेमु कोइरालालाई सम्मान गरिएको थियो ।
भवन निर्माणका लागि सुनसरीको दुहबीस्थित पारस कन्ट्रक्सन एण्ड सप्लायर्स प्रालिसँग २०७७ पुस २० गते ठेक्का सम्झौता भएको थियो । स्थानीय जग्गादाताले निःशुल्क उपलब्ध गराएको २ कठ्ठा जग्गामा ७९ लाख २७ हजार लागतमा भवन निर्माण भएको हो ।








प्रतिक्रिया राख्नुहोस्