वातावरण जोगाउन नसक्दा मधेशमा खानेपानीको अभाव सृजना भयो : मन्त्री रिजाल

वीरगंज । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले वातावरण तथा पर्यावरण जोगाउन नसक्दा अहिले पर्सा सहित मधेशमा खानेपानीको अभाव सृजना भएको बताउनुभएको छ ।
पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ४ मा सुहपुर सोहरीस्थित भहुवाही खोलाको किनारमा आयोजित वृहत् वृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री रिजालले वातावरण जोगाउन वृक्षारोपण गर्नु पर्ने कुरामा जोड दिनुभयो ।
उहाँले चुरे विनाशको कारण वातावरण सन्तुलन नहुँदा तराई मधेशमा बर्षायाममा समेत पानीको अभाव सृजना भएको हुँदा अब राज्यका सबै तहको ध्यान वातावरण जोगाउन वृक्षारोपण गर्ने तर्फ केन्द्रित गर्नु पर्ने कुरामा जोड दिनुभयो ।
सो अवसरमा अमला, जामुन, आँप, जडीबुटी, जङ्गली बिरुवा, भिलोर, बर्गज, बेल, पिपल, सगुवान, शिरीष, सपेता, बकैना, कदम, निम लगायतका ६ हजार प्रजातिका बिरुवा रोपिएको थियो ।
जगरनाथपुर गाउँपालिकाको वन तथा वातावरण शाखाको सहयोगमा सुहपुर सोहरी हरियाली वन व्यवस्थापन समुहको आयोजनामा सम्पन्न भएको नेपाली कांग्रेसका क्षेत्रीय सचिव बलिष्टर अहमदले जानकारी दिनुभयो ।
वृहत् वृक्षारोपण कार्यक्रममा मधेश प्रदेशका प्रदेश सभा सदस्य शङ्कर प्रसाद चौधरी, जगरनाथपुर गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादव, वशिष्ट नारायण प्रसाद कुर्मी, वडा अध्यक्ष प्रभुनाथ प्रसाद नुनियाँ, बिहारी महतो, लक्ष्मी साह, सुभाष कुमार यादव, वन समूहका पदाधिकारी, सदस्य तथा स्थानीयवासीको उपस्थिति रहेको थियो । वृक्षारोपणका लागि बिरुवा डिभिजन वन कार्यालय पर्साले उपलब्ध गराएको थियो ।








प्रतिक्रिया राख्नुहोस्