तपाईँ सुन्दै हुनुहुन्छः

गायिका झालाई मैथिली गीत गायन पुरस्कार प्रदान गरिने

सप्तरी । यस वर्षको उर्मिला देवी मैथिली गीत गायन पुरस्कार सप्तरीको राजविराज–४ की कञ्चन झालाई प्रदान गरिने भएको छ ।

प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झाद्वारा भाइ बुहारी उर्मिलादेवी झाको स्मृतिमा स्थापित पुरस्कारबाट यस वर्ष मैथिली लोकगीत गायिका कञ्चन झालाई पुरस्कृत गर्ने निर्णय भएको उहाँले जानकारी दिनुभयो ।

झाका अनुसार मैथिली साहित्य परिषद्को समन्वयमा आज बसेको बैठकले उक्त निर्णय गरेको हो । उक्त पुरस्कार मधुश्रावणी पर्वको अवसरमा प्रदान गरिँदै आएको छ ।

मैथिली साहित्य परिषद्की आजीवन सदस्य मैथिली गीत गायिका उर्मिला देवी झाको पाँच वर्षअघि मधुश्रावणी पर्वकै समयमा विराटनगरमा भएको दुर्घटनामा मृत्यु भएको थियो । उर्मिलाकै स्मृतिमा उहाँका जेठाजु प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झाले चार वर्षदेखि पुरस्कार वितरण गर्दै आउनुभएको छ ।

गत वर्ष सो पुरस्कारबाट गायिका एवं रेडियोकर्मी तिरहुत गाउँपालिका–१ की मुनचुन देव ‘प्रिया’ पुरस्कृत हुनुभएको थियो । यस्तै ०७७ सालमा राजविराज नगरपालिका–७ की किरण झा र ०७८ सालमा राजविराज–४ की रञ्जु साह पुरस्कृत हुनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button