पाँच वर्षभित्र त्रिदेशीय नाका बन्छ : प्रमुख सचेतक लेखक
महेन्द्रनगर । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले कञ्चनपुरको प्रस्तावित दोधारा चाँदनीको सुक्खा बन्दरगाहलाई महाकाली कोरिडोरमार्फत चीनसित जोडेर त्रिदेशीय नाका बनाइने बताउनुभएको छ ।
नेपाली कांग्रेस दोधारा चाँदनीको प्रथम नगर सम्मेलन उद्घाटन समारोहमा आज उहाँले सुक्खा बन्दरगाहलाई आगामी पाँच वर्षभित्र नेपाल–भारत र चीनको नाका रुपमा विकास गरिने बताउनुभयो ।
“आगामी पाँच वर्षभित्र यो काम गरेरै छाडिन्छ”, नेता लेखकले भन्नुभयो, “यहाँको उद्योग, व्यापार, पर्यटन विकासका लागि पनि यसको आवश्यकता छ ।” चुनावी प्रतिबद्धता स्मरण गर्दै नेता लेखकले सुक्खा बन्दरगाह बनाउने कुराको आशङ्का नगर्न आग्रह गर्नुभयो ।
दोधारा चाँदनी सुक्खा बन्दरगाहको काम अघि बढेको बताउँदै उहाँले तीन वर्षभित्र स्थापना हुनेमा विश्वस्त रहन आग्रह समेत गर्नुभयो । उहाँले सुक्खा बन्दरगाहको वातावरणीय प्रभाव मूल्याङ्कन लगायतका काम भइसकेको जानकारी दिनुभयो । नेता लेखकले विकास र समृद्धिका लागि राजनीतिक दलबीच पनि हातेमालो आवश्यक छ भन्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्