तपाईँ सुन्दै हुनुहुन्छः

गाउँपालिकाद्वारा नौ सय ८४ जनालाई भत्ता वितरण

भोजपुर । भोजपुरको रामप्रसाद राई गाउँपालिकाले नौ सय ८४ जना लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ ।

वडा तहमा सञ्चालन भएका घुम्ती शिविरहरूबाट आर्थिक वर्ष २०७९/०८० को चौथो त्रैमासिक सामाजिक सुरक्षा भत्ता वितरण, ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षणका साथै आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण गरिएको गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताउनुभयो ।

भत्ता लिन सेवाग्राहीलाई बैङ्कसम्म धाउनु नपरोस् भन्नका लागि वडा तहमै एनआइसी एसिया बैकको समन्वयमा भत्ता वितरण तथा नवीकरणको व्यवस्था मिलाइएको राईले बताउनुभयो । वडाहरूमा गत साउन ४ गतेदेखि ११ गतेसम्म सामाजिक सुरक्षा भत्ता वितरणका लागि घुम्ती शिविर सञ्चालन गरिएको थियो ।

अन्तिम त्रैमासिक सामाजिक सुरक्षा भत्ता वितरण, नवीकरण, ज्येष्ठ नागरिकहरूको स्वास्थ्य परीक्षण शिविर लगायतका विषयमा गाउँपालिकामा शुक्रबार समीक्षा कार्यक्रम सम्पन्न गरियो । समीक्षामा आगामी आर्थिक वर्षको सामाजिक सुरक्षा भत्ता वितरण थप प्रभावकारी रुपमा सञ्चालन गर्ने निर्णय भएको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button