तपाईँ सुन्दै हुनुहुन्छः

आफुले पाउने सबै सुविधा गरिब र विपन्न विद्यार्थीलाई दिने उपप्रमुखको घोषणा

बैतडी । बैतडीको दशरथचन्द नगरपालिकाकी उपप्रमुख कौशिला चन्दले आफ्नो मासिक सुविधाको रकमबाट गरिब र विपन्न विद्यार्थीलाई छात्रवृत्ति दिने बताउनुभएको छ ।

प्राविधिक शिक्षा हासिल गर्ने नगरपालिका भित्रका २२ जना छात्रछात्रालाई वार्षिक ५० हजारका दरले छात्रवृत्ति प्रदान गर्ने उहाँले घोषणा गर्नुभएको छ । गरिब तथा विपन्न परिवारका १० जना छात्र र १२ जना छात्रालाई प्राविधिक विषय पढ्नका छात्रवृत्ति दिने उहाँको घोषणा छ ।

उपप्रमुख चन्दले वार्षिक ११ लाख व्यक्तिगत रकम छात्रवृत्तिमा लगाउन लगानी गर्न लाग्नुभएको हो । उहाँले मासिक सुविधा बापतको ४३ हजार र बैठक भत्ताको सबै रकम छात्रवृत्तिमा खर्च गर्ने बताउनुभयो । नगरपालिका भित्रका गरिब, दलित तथा विपन्न विद्यार्थीलाई प्रक्रियागत ढंगले छनोट गरि छात्रवृत्ति वितरण गरिने उहाँले बताउनुभयो ।

‘नगरभित्रका १० जना छात्र र १२ जना छात्रालाई वार्षिक ५० हजार सहयोग गर्नेछु’ आफ्नै निवासमा पत्रकार सम्मेलनको आयोजना गर्दै उपमेयर चन्दले भन्नुभयो, ‘पाँच वर्षसम्म प्राप्त हुने सम्पूर्ण रकम न्यून आय भएका दलित, विपन्न वर्गका विद्यार्थीको शिक्षाका लागि खर्च गर्ने सोचेकी छु ।’

प्राविधिक शिक्षा तर्फ ओभरसियर, कृषि तथा पशु प्राविधिक, स्टाफ नर्स, हेल्थ असिस्टेन्ट जस्ता विषय पढ्ने विद्यार्थीलाई उक्त रकम प्रदान गरिने उहाँले बताउनुभयो ।

राजनीतिमा समाज सेवाका लागि आएको बताउँदै चन्दले मासिक परिश्रमिक र बैठक भत्तालाई उपमेयर कोष खडा गरेर शिक्षा क्षेत्रमा सहयोग गर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button