तपाईँ सुन्दै हुनुहुन्छः

‘अन्नभण्डार’ मै  छैन रोपाइँ

बाँके । पश्चिम् नेपालको अन्न भण्डारको रुपमा चिनिने बर्दियामा साउनको दोस्रो साता बित्दा पनि रोपाइँ सकिएको छैन । बर्दियामा यसबर्ष असार महिना भरी पानी परेन। जसका कारण धानको बीउ राख्नमै ढिलाइ भयो । कतिपय स्थानमा खडेरी जस्तै भएको छ। 

जिल्लाको आठ पालिकामध्ये कर्णालीले घेरिएको राजापुर नगरपालिका र गेरुवा गाउँपालिकामा ९७ प्रतिशत धान रोपाई भएको छ। यस भेगमा कर्णाली नदीबाट बाह्रै महिना सिचाइ सुविधा भएपनि बर्सात नभएकाले असार भित्र सकिने रोपाई श्रावणको दोस्रो हप्तासम्म सकिएको छैन।

जिल्लाका बाँकी छ पालिकाहरू ठाकुरबाबा मधुवन बारबर्दिया गुलरिया बासगढि र बढैयातालमा बबैइ सिचाई नहर भएपनी नहरमा प्राप्त पानी नहुँदा रोपाई गर्न सकिएको छैन।

पानीको अभावका कारण धान सुक्न थालेका छन् भने कतै धान किराले खाएर मरेको बढैयायाल गाउँपालिकाका स्थानीय कृषकहरूको दुखेसो छ।

बर्दियाको सदरमुकाम गुलरियाका कतिपय क्षेत्रमा पनि अझै रोपाई हुन सकेको छैन ।  यहाँका कतिपय खेतहरूमा घाँस र झार पलाएका छन् भने धान रोप्ने खेतमा बाख्रा गाईभैसी चरिरहेका छन् । जसोतसो रोपेको धानपनी बर्सात नहुँदा  गह्राहरु पटपटी फुटेको अवस्थामा दे।खन्छन् । समयमा धान रोप्न नपाउँदा बर्दियाका किसानको दिनचर्या आकाश तिर हेरेरै बित्ने गरेको छ।

समयमा मल, पानी नपाउँदा धान रोपाई  ढिलो भइसकेको हुँदा घरपरिवारको लालन पालन कसरी गर्ने भन्ने चिन्ताले सताउन लागेको गुलरिया नगरपालिकाका स्थानीय कृषकहरू बताउँछन् ।

बर्दिया जिल्लामा पचास हजार दुई सय पचास हेक्टर जमिनमा धान खेती हुने गरेकोमा हालसम्म ८६. २ प्रतिशत मात्र धान रोपाइ भएको छ। साउनको तेस्रो सातासम्म जिल्लामा सम्पुर्ण खेतमा धान रोपाइँ हुनुपर्ने भएतापनी कतिपय स्थानमा सम्भव देखिएको छैन।

गतबर्ष अहिलेको समयमा करिब करिब धान रोपाई सकिएको एकीकृत कृषि तथा पशुपन्छी बिकास कार्यालय बर्दियाका प्रमुख सागर ढकालको भनाई छ।

जीवन जिउने आधार नै कृषि पेशा भएको र अहिलेसम्म पनि सिचाई सुविधा नहुँदा रोपाई गर्न नसकिएको किसानको दुखेसो छ । आकाशे पानीको भरमा रहेका किसानलाई राहत दिन भेरी बबैइ डाइभर्सन चाँडो सम्पन्न गरि सबैतिर  सिँचाइ सुविधा पुर्‍याउन पुर्‍याउनु पर्ने र कृषकका लागि आवश्यक मल,बीउको व्यवस्था समयमै गर्न पर्ने देखिन्छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button