तपाईँ सुन्दै हुनुहुन्छः

यस वर्षको वैद्य–प्रकाश मानव अधिकार पुरस्कार थानसिंह भन्सालीलाई प्रदान गरिने 

सप्तरी । यस वर्षको वैद्य–प्रकाश मानव अधिकार पुरस्कार मानव अधिकार र सामाजिक जागरणाको अभियानमा क्रियाशिल नागरिक समाज सप्तरीका अध्यक्ष थानसिंह भन्सालीलाई प्रदान गरिने भएको छ ।

वैद्य–प्रकाश मानव अधिकार पुरस्कार कोषको वैठकले २०८० का लागि प्रजातान्त्रिक, संघीय लोकतान्त्रिक, मधेस आन्दोलनमा सक्रिय रही हाल महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको चेतना अभिवृद्धिका लागि कटिबद्ध र निरन्तर क्रियाशील सप्तरीको राजविराज नगरपालिका–७ का ७२ वर्षीय भन्सालीलाई प्रदान गर्ने निर्णय गरेको जनाएको छ ।

राजविराजको उद्योग, व्यापारको विकासमा समर्पित रही अल्पसंख्यक मारबाडी समुदायको अभिभावकत्व समेत गर्दै आउनु भएका भन्सालीले नागरिकको चेतना, मानव अधिकारको संरक्षण, लैङ्गिक हिंसा र लागु पदार्थविरुद्धको जागरण अभियानमा प्रशंसनीय योगदान गर्नुका साथै गरिब, दिनदुखीलाई सहयोग गर्दै आउनु भएको छ ।  

मानव अधिकारका अथक योद्धा प्रकाश काफ्लेको स्मृतिमा आगामी साउन १६ गते राजविराजस्थित नेपाल पत्रकार महासङ्घको भवनमा सम्मानको कार्यक्रम गरिने कोषका संस्थापक प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झाले जानकारी दिनुभयो । कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मिहीर ठाकुरले सम्मानपत्र हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।

नुवाकोटको घोप्टेभीरमा ०४९ साउन १६ गते भएको थाइ विमान दुर्घटनामा काफ्लेको निधन भएको थियो । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा २१ औँ प्रकाश मानव अधिकार पुरस्कारबाट सम्मानित वैद्यनाथ झाले स्थापना गर्नुभएको पुरस्कार २०७३ सालदेखि प्रत्येक वर्ष मानव अधिकार तथा नागारिक आन्दोलनका विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने व्यक्तित्वलाई प्रदान गरिँदै आएको कोषका सदस्य सचिव मनोहर पोखरेलले बताउनु भयो ।

यो पुरस्कारबाट बलदेव राम (२०७३), युक्तिलाल मरिक (२०७४), असर्फी सदा(२०७५), मनोहर पोखरेल (२०७६), रुबी कर्ण (२०७७), अनीता देवकोटा (२०७८), हितनारायणा लाल दास (२०७९) लाई सम्मानित गरिएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button