परिचयपत्र नभएकालाई एसएसवीले फर्कायो, सिमानाकामा नेपालीको बिचल्ली
बाँके । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका अधिकांश मानिसहरूको रोजगारको थलो हो भारत । पश्चिमको प्रमुख नाका नेपालगन्जस्थित जमुनाह नाकाबाट ती मानिसहरू रोजगारका लागि भारत जाने गरेका छन् ।
पहाडी जिल्लामा खेतीपातीको समय सकिएको छ । दशैं तिहारको जोहो गर्न हिजोआज जमुनाह नाका भएर भारत जानेको सङ्ख्या बढिरहेको छ । हिजोआज दैनिक तीन सय हाराहारीमा नेपालीहरू कमाइका लागि जमुनाह नाका भएर भारत जाने गरेका छन् । यसअघि उनीहरू सहज तरिकाले नाका पार गर्दै आएका थिए ।
तर यो पटक भने नाकामा भारतीय एसएसवीको कडाइका कारण नेपाली नागरिकहरूले दुख र झन्झट व्यर्होदै आएका छन् । भारतीय एसएसवीले परिचयपत्र अनिवार्य गरेपछि रोजगारीका लागि नाका पुगेका कतिपय नेपाली अलपत्र परेका छन् । भारतीय सुरक्षा बल एसएसवीले विना सूचना एक्कासी नाकामा परिचयपत्र अनिवार्य गरेपछि रोजगारीका लागि भारत जाने र किनमेलका लागि रुपैडिया जानेहरू दुख पाउने गरेका छन् ।
यसक्षेत्रका अधिकांश नेपाली किनमेल र औषधि उपचारका लागि भारतीय बजार जाने गरेका छन् । अनावश्यक चेकजाँचका कारण लाइनमा घण्टौँ बिताउनु पर्ने बाध्यता छ । भारतीय एसएसवीले परिचयपत्र खोज्ने मात्र होइन खानतलासी पनि गर्ने गरेको छ ।
सिमामा चेकजाँचमा कडाइ गरिनु सकारात्मक भएपनि भीड व्यवस्थापन गर्न नसक्दा नाकामा अस्तव्यस्त बढेको छ भने नागरिकहरूले दुख पाइरहेका छन् ।
परिचयपत्र भएकालाई मात्र भारत प्रवेश गर्न दिने गरिएको छ भने परिचयपत्र नभएकालाई लाइनबाट फर्काउने गरिएको पाइएको छ । नेपाली नागरिकता वा नेपाली परिचय खुल्ने परिचयपत्र लामै लाइन लगाएर भारतीय सुरक्षा बल एसएसबिले कडाइका साथ नागरिकता हेर्दै भारत प्रवेश गर्न दिइरहेका छन् ।
भारत, पाकिस्तान र नेपालमा समेत चर्चित बनेका पाकिस्तानी महिला सीमा हैदर र भारतीय युवा सचिन मिणाको जोडीको कारण नेपाल– भारत सीमा नाकामा कडाइ गरिएको बताइन्छ । तर सीमा सुरक्षार्थ खटिने अधिकारीहरुले भने माथिको आदेश कार्यान्वयन गरिएको प्रतिक्रिया दिएका छन् ।








प्रतिक्रिया राख्नुहोस्