तपाईँ सुन्दै हुनुहुन्छः

पत्रकारिताले आफ्नो धर्म छाड्नु हुँदैन : अध्यक्ष बस्नेत

काठमाडौँ । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले समाज र जनताप्रति पत्रकारिताको ठूलो दायित्व हुने भएकाले आफ्नो धर्म छाड्न नहुने धारणा राख्नुभएको छ ।

नेपाल प्रेस काउन्सिलले आयोजना गरेको पत्रकार आचारसंहिता कार्यान्वयनको २८ औँ शृङ्खलामा अध्यक्ष बस्नेतले समाजप्रति जिम्मेवारी निर्वाह गर्दै पत्रकारिताले आफ्नो धर्म निर्वाह गर्नुपर्ने बताउनुभयो । उहाँले राज्य र अन्य निकायले नसुनेका समस्या सञ्चार माध्यमले उजागर गर्नुपर्नेमा जोड दिनुभयो ।

“सरकार र विभिन्न क्षेत्रले नसुनेका कुराहरू सञ्चार माध्यममा आइदिए हुने थियो भन्ने धेरैको चाहना हुन्छ, सत्य कुरा बाहिर ल्याउनका लागि सञ्चार माध्यमको भर परेका हुन्छन्”, उहाँले भन्नुभयो, “पत्रकारिताले आफ्नो धर्म छाड्ने र आचारसंहिताको पालना नगर्ने हो भने समाज र जनताले गरेको विश्वासप्रति ठूलो धोका हुन्छ ।”

छापा सञ्चारमाध्यमलाई परिष्कृत गर्दै डिजिटल माध्यमलाई समृद्ध बनाउने अवस्थामा आइपुगेको हुनाले अनलाइन पत्रकारितालाई स्वागत गर्नुपर्ने समय भएको उहाँले उल्लेख गर्नुभयो ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले नेपाली पत्रकारिता क्षेत्रलाई श्रम शोषणमुक्त क्षेत्र हो भन्ने भाष्य स्थापना गर्न जरुरी भएको बताउनुभएको छ । पत्रकारिताप्रतिको जनविश्वास अझ बढाउने गरी काम गर्न सञ्चार गृह सञ्चालकलाई आग्रह गर्दै उहाँले पत्रकारिताको स्तर खस्किन नदिने गरी काम गर्नुपर्ने र त्यसका लागि पत्रकारको क्षमता अभिवृद्धि गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

सञ्चार संस्था सञ्चालन गर्दा श्रमको सम्मान गर्दै आर्थिक रुपमा सक्षम भएर मात्र सञ्चार माध्यम सञ्चालन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । साथै श्रमिकले काम गरेबापत पैसा लिन अदालतमा मुद्दा हाल्न जानुपर्ने अवस्था सही नभएको उहाँको भनाइ छ ।

नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष द्वय तारानाथ दाहाल र डा महेन्द्र विष्टले पत्रकारहरूले आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने विषयमा आ–आफ्नो प्रस्तुति दिनुभयो ।

काउन्सिलले पत्रकार आचारसंहिताको प्रभावकारी कार्यान्वयन र पालना गराउने उद्देश्य आज ४६ वटा अनलाइनका प्रकाशक र सम्पादकलाई अभिमुखीकरण गराएको छ । काउन्सिलले हालसम्म आठ सय ७६ अनलाइनलाई पत्रकार आचारसंहिताको कार्यान्वयन र पालनाका लागि अभिमुखीकरण गराइसकेको आचारसंहिता अनुगमन महाशाखाका प्रमुख रामशरण बोहराले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button