गण्डकीका यातायातबाट ३ अर्ब राजस्व सङ्कलन

कास्की । गण्डकी प्रदेशमा रहेका यातायात कार्यालयहरूले गत आर्थिक वर्ष २०७९र८० मा ३ अर्बभन्दा बढी राजस्व सङ्कलन गरेका छन् । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयद्वारा पोखरामा आयोजित वार्षिक समीक्षा कार्यक्रममा मन्त्रालय मातहतका यातायात कार्यालयका प्रमुखहरूले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष ३० प्रतिशत बढी राजस्व सङ्कलन गरेको तथ्याङ्क प्रस्तुत गर्नु भएको छ ।
बागलुङ, डुम्रे र नवलपुरमा एक–एक र कास्कीमा २ यातायात कार्यालय, गोरखा, लमजुङ र स्याङ्जामा यातायात सेवा कार्यालयले गत आवमा कुल ३ अर्ब १७ करोड राजस्व सङ्कलन गरेका हुन् । सवारी चालक अनुमतिपत्र जारी, नवीकरण, सवारीसाधन दर्ता, नवीकरण र जरिवानालगायतका शीर्षकमा राजस्व सङ्कलन भएको हो । ती कार्यालयले आव २०७८र७९ मा २ अर्ब २४ करोड राजस्व सङ्कलन गरेका थिए । अघिल्लो वर्षको तुलनामा ९३ करोड बढी राजस्व सङ्कलन गरिएको छ ।
प्रदेशमा सबैभन्दा बढी २ अर्ब ५ करोड ६० लाख ४८ हजार दुई सय ६४ राजस्व सङ्कलन यातायात व्यवस्था कार्यालय पोखराले गरेको छ । करको दरमा भएको वृद्धि र सहज रूपमा कर तिर्ने व्यवस्था मिलाइएकाले राजस्व सङ्कलन बढेको यातायात व्यवस्था कार्यालय पोखराले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्