आत्मनिर्भरता बढाउन आयातमा बढी कर : अर्थमन्त्री महत

भैरहवा । अर्थमन्त्री डा प्रकाशशरण महतले आत्मनिर्भरता बढाउन आलु प्याजलगायतमा कर बढाएको बताउनुभएको छ ।
नेपाली कांग्रेस रूपन्देही क्षेत्र नम्बर ३ को क्षेत्रीय समितिले भैरहवामा आयोजना गरेको कार्यक्रममा उहाँले अत्यावश्यक वस्तुहरूमा आत्मनिर्भरता बढाउनका लागि यस्ता वस्तुको आयातमा कर बढाइने बताउनुभयो ।
कृषिमा आधारित देश भए पनि कृषि उत्पादन नभएको बताउँदै उहाँले देशको उत्पादन बढाउने उद्देश्यसहित मूल्य अभिवृद्धि कर लागु गरिएको जानकारी दिनुभयो ।
‘कृषिलाई उत्पादनमुखी बनाउने र कृषि उत्पादन बढाउने उद्देश्य राखी देशमा आयात हुने वस्तुमा मूल्य अभिवृद्धि कर लगाएका हौँ’, उहाँले भन्नुभयो, ‘आलु र प्याजमा हामी करिब करिब आत्मनिर्भर भइसकेका छौँ, यसले कृषि उत्पादकहरू खुशी हुनुभएको छ ।’
अर्थमन्त्री महतले अहिले स्वार्थ समूह बलियो भएको र सबै ठाउँमै उनीहरूकै पकड रहेको उल्लेख गर्दै आफ्नो उच्च मनोबलका कारण मात्र यो दबाब थेग्न सकेको बताउनुभयो ।
‘संसद्मा हुँदै नभएको कुरा आयो, मैले त्यहीअनुसार स्पष्ट कुरा राखेँ’, उहाँले भन्नुभयो, ‘म खुला तस्बिरका रूपमा रहेको छु, त्यसकारण मैले त्यहाँ पनि सांसदहरूलाई बुझाएको छु ।’
नेपाली कांग्रेसका केन्द्रीय प्रवक्तासमेत रहनुभएका नेता महतले कुनै व्यक्तिलाई आरोप लागेकै भरमा दोषी भन्न नमिल्ने बताउनुभयो । नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणको विषयमा पार्टीका कार्यकर्ताले सोधेको प्रश्नमा उहाँले कानूनको उल्लङ्घन गर्नेको कांग्रेसले कहिल्यै संरक्षण नगर्ने बताउँदै आरोपकै भरमै मात्र कारबाही नगर्ने स्पष्ट पार्नुभयो । ‘रिस साँध्ने साधन नबनाई यसमा निष्पक्ष छानबिन हुनपर्छ भन्ने हाम्रो धारणा हो’, उहाँले भन्नुभयो, ‘कोही दोषी उम्किनु हुन्न, कोही निर्दोषी फस्नु पनि हुँदैन ।’ रासस







प्रतिक्रिया राख्नुहोस्