कार्यवाहक प्रधानमन्त्री खड्कासँग चिनियाँ शीर्ष नेता युआनको भेटवार्ता
काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्कासँग जनवादी गणतन्त्र चीनको कम्युनिष्ट पार्टीका केन्द्रीय कमिटी राजनीतिक ब्यूरोका सदस्य युआन च्या च्युनले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

रक्षा मन्त्रालय, सिंहदरबारमा आज भएको भेटवार्तामा कावा प्रधानमन्त्री खड्काले केही समयअगाडि मात्र जिम्मेवारी पदभार सम्हाल्नुभएकोमा उहाँलाई बधाई दिँदै उहाँको कार्यकालमा नेपाल–चीन सम्बन्ध प्रगाढ हुने विश्वास व्यक्त गर्नुभएको थियो ।
सो अवसरमा कावा प्रधानमन्त्री खड्काले नेपाल र चीनबीच सदियौँदेखि रहिआएको सौहार्दपूर्ण एवं घनिष्ठ सम्बन्ध नेपाल सरकार र नेपाली जनताले महसुस गरेको स्मरण गर्नुभयो । उहाँले मित्रराष्ट्र चीनले आर्थिक, सामाजिक एवं प्राविधिक विकासद्वारा समग्र विकासमा प्राप्त गरेको अभूतपूर्व प्रगतिको प्रशंसा गर्दै चीनको यो उपलब्धि नेपालका लागि प्रेरणाको स्रोत हुने विचार व्यक्त गर्नुभएको मन्त्रालयले जनाएको छ ।
कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै दुई देशबीचको रक्षा सम्बन्ध र सहकार्य सौहार्दपूर्ण एवं घनिष्ठ रही आएको उल्लेख गर्दै चिनियाँ सेनाले नेपाली सेनाको क्षमता अभिवृद्धिमा पुर्याएको सहयोगका लागि उहाँले धन्यवाद व्यक्त गर्नुभएको थियो ।
सो अवसरमा पोलिटब्यूरो सदस्य युआनले यस पटकको नेपाल भ्रमणको प्रमुख उद्देश्य सन् २०१९ मा चीनका महामहिम राष्ट्रपति सि चिनफिङको भ्रमणका अवसरमा निर्णय भएका विभिन्न आयोजना तथा कार्यक्रमको व्यावहारिक कार्यान्वयनलाई सफल बनाउनु रहेको बताउनुभएको थियो ।
साथै, उहाँले पूर्वप्रधानमन्त्री स्व विश्वेश्वरप्रसाद कोइरालाले सन् १९६० मार्चमा चीनको भ्रमण गरेपछि नेपाल–चीन सम्बन्ध प्रगाढ भएको उल्लेख गर्नुभएको थियो ।
पोलिटब्यूरो सदस्य युआनले नेपालको एक चीन नीतिप्रति कृतज्ञता प्रकट गर्दै नेपालको भूमि चीन विरुद्धका गतिविधिमा प्रयोग हुन नदिने नेपालको प्रतिबद्धताको प्रशंसा गर्नुभएको थियो । सो अवसरमा उहाँले कावा प्रधानमन्त्री खड्कालाई उपयुक्त समयमा चीन भ्रमणका लागि निमन्त्रणा दिनुभएको मन्त्रालयले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्