काँग्रेसलाई कम्युनिष्टहरूको शत्रु देखाएर सत्ता गठबन्धन फुटाउन खोजिँदै छ : अध्यक्ष नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सत्ता गठबन्धनलाई तोड्ने अनेक षड्यन्त्र भइरहेको बताउनुभएको छ ।
समाजवाद अध्ययन केन्द्रले आज काठमाडौँमा आयोजना गरेको ‘समाजवाद: बहस र सङ्घर्ष’ विषयक कार्यक्रममा पूर्व प्रधानमन्त्री एवम् एकीकृत समाजवादीका अध्यक्ष कम्युनिष्टहरूको शत्रु काँग्रेसलाई देखाएर सत्ता गठबन्धन फुटाउने खोजिएप्रति सचेत हुनुपर्ने बताउनुभयो ।
अध्यक्ष नेपालले व्यवहार र सिद्धान्तभन्दा पनि वर्तनमान यथार्थ धरातलमा टेकेर जानुपर्ने भन्दै सत्ता गठबन्धनलाई कायम राख्दै आफ्नो शक्ति वृद्धि गर्ने कुरामा केन्द्रित हुनुपर्ने स्पष्ट पार्नुभयो ।

अध्यक्ष नेपालले व्यक्तिवाद हाबी भएका कारण तत्कालीन नेकपा समेत विभाजित हुनुपरेको भन्दै त्यसबाट सिकेर अघि बढ्नुको विकल्प नभएको बताउनुभयो ।
माओवादी केन्द्रका उपाध्यक्ष पम्फा भुसालले नेपालको संविधानमा समाजवादमा जाने भनेर लेखिएको कुरा चानचुने नभएको बताउनुभयो ।
उपाध्यक्ष भुसालले सङ्घर्ष र प्राप्तिहरूका आधारमा एक तहको उपलब्धि प्राप्त हुँदै गएपनि समाजवादको गन्तव्यमा पुग्न बलियो कम्युनिष्ट आवश्यक रहेको बताउनुभयो ।
समाजवाद समानताविरुद्धको आन्दोलन भएको स्पष्ट पार्दै उपाध्यक्ष भूसालले मान्छेले मान्छेमाथि गरेको शोषण अन्त्यको अधिकार प्राप्तिसँगै कार्यान्वयन उन्मुख रहेको बताउनुभयो ।
उपाध्यक्ष भूसालले मुलुक वैज्ञानिक समाजवादतर्फ जानुपर्ने बताउँदै शिक्षा, स्वास्थ्य, आर्थिक स्रोतमाथिको स्वामित्वमा देखिएको असमानता तोड्न सबै कम्युनिष्ट एक हुनुपर्ने बताउनुभयो ।

समाजवाद अध्ययन केन्द्रका अध्यक्ष अर्जुन राई समाजवाद सबैखाले समस्याको निर्कौल भएको भन्दै उद्देश्य विहीनहरूले समाजवाद उन्मुख व्यवस्थामाथि एकाएक प्रहार गरिरहेको बताउनुभयो ।
केन्द्रका अध्यक्ष राईले समाजवादलाई गन्तव्य बनाउँदै प्राप्त उपलब्धिलाई होच्याउने काम भइरहेकोप्रति सचेत हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा समाजवाद अध्ययन केन्द्रका संस्थापक माओवादी केन्द्रकी धनकुटा संयोजक कुसुम कुमारी श्रेष्ठलगायत ‘समाजवाद: बहस र सङ्घर्ष’ विषयक कार्यक्रममा वक्ता एवम् कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।









प्रतिक्रिया राख्नुहोस्