तराई मधेस हरित अभियान कार्यक्रम मोरङमा प्रभावकारी बन्दै

विराटनगर । तराई मधेश हरित अभियान कार्यक्रम मोरङ जिल्लामा प्रभावकारी बन्दै गएको छ । डिभिजन वन कार्यालय मोरङले यो कार्यक्रम सञ्चालनमा ल्याएसँगै खालीपर्ती तथा नदी उकास जग्गा साथै वनक्षेत्रका खाली जग्गा हराभरा हुन थालेका छन् ।
अभियान अन्तर्गत यो वर्ष अहिलेसम्म ४० हेक्टर भन्दा वढि जग्गामा वृक्षारोपण भइसकेको छ । अभियान अन्तर्गत निजी तथा डिभिजन वन कार्यालयको मातहतमा रहेका २० वटा नर्सरी मार्फत किसान तथा सामुदायिक वनहरूलाई निःशुल्क रुपमा बिरुवा उपलब्ध गराउँदै आएको सो कार्यालयका सहायक वन अधिकृत रामलखन ठाकुरले बताउनुभयो ।
कार्यालयले यो वर्ष साढे ९ लाख बिरुवा उत्पादन गर्ने लक्ष्य राखेको थियो । त्यसमध्ये २ लाख ८० हजार वहुवर्षे बिरुवा आगामी वर्ष वृक्षारोपणका लागि कार्यालयले स्टकमा राखेको छ ।

विभिन्न नर्सरी मार्फत अहिले साढे ६ लाख बिरुवा वितरण गर्ने कार्य भइरहेको छ । यो वर्ष निजी किसानले एकलाख २५ हजार बिरुवा उत्पादन गरेका छन् । सामुदायिक तथा साझेदारी वनहरूले वन क्षेत्रको खाली तथा नदी उकास जग्गामा वृक्षारोपण गरिरहेका छन् । सहायक वन अधिकृत ठाकुरका अनुसार सहरी क्षेत्रलाई स्वच्छ एवं हराभरा बनाउन स्थानीय तहसँग समन्वय गर्दै वृक्षारोपण कार्यलाई अघि बढाइएको छ । वडा कार्यालयहरूसँग समन्वय गर्दै सौन्दर्यवर्धक प्रजातीका बिरुवा सहरी क्षेत्रका सडक तथा आवश्यक स्थानमा रोप्ने कार्य भइरहेको उहाँले बताउनुभयो ।
कार्यालयले विभिन्न नर्सरी मार्फत कदम टिक मसला, सतीसाल, कर्मा, खयर, एपिल, मलेसियन सखुवा , तेजपात जातका साथै आँप, लिच्ची कागती लगायतका फलफूलका बिरुवा निःशुल्क वितरण गर्दै आएको छ ।
डाँस मोरंगी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष मदन पोखरेलले राष्ट्रिय वनभन्दा टाढा रहेका उपभोक्तालाई त्यही आत्मनिर्भर बनाउन र वनक्षेत्रमा रहेका वन्यजन्तुको आहारालाई केन्द्रित गर्दै बिरुवा लगाउने कार्य भइरहेको बताउनुभयो । जङ्गल भित्र रहेका वन्यजन्तु आहारका लागि वनक्षेत्र भन्दा बाहिर राजमार्गका सडकमा निस्कँदा वढि दुर्घटना हुने गरेकाले वन्यजन्तुलाई केन्द्रित गर्दै वनक्षेत्रमा फलफूलका बिरुवा समेत लगाएको उहाँको भनाई छ । डिभिजन वन कार्यालयले यसरी लगाइएका बिरुवा संरक्षण गर्ने तथा हुर्काउने जिम्मामा स्थानीय समुदायलाई दिएको छ ।

गत आर्थिक वर्ष बिरुवा उत्पादनको बजेट कटौती भएर आएकाले समस्या भएको कार्यालयले जनाएको छ । बिरुवा उत्पादन गर्दा कतिपय प्र्जातीका बिरुवा महँगो मूल्यमा खरिद गर्नुपर्ने भएकालेपनि बजेट कम हुँदा समस्या हुने गरेको कर्मचारीहरू बताउँछन् ।
अभियान अन्तर्गत नदी कटान तथा भूक्षय नियन्त्रण गर्न नदी किनारमा बाँसका बिरुवा रोप्ने कार्य समेत भएका छन् । नर्सरीमा उत्पादन भएका बाँसका बिरुवा सामुदायिक वन तथा निजी किसानलाई उपलब्ध गराउँदै कटान हुन सक्ने जोखिपुर्ण स्थानमा रोपिएको कार्यालयले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्