अब उत्पादनको नेतृत्व निजी क्षेत्रले गर्नुपर्छ : अर्थमन्त्री डा महत
काठमाडौँ । अर्थमन्त्री डा प्रकाशशरण महतले अहिले निजी क्षेत्र व्यापार क्षेत्रमा बढी केन्द्रित हुँदै गएकाले अब उत्पादन क्षेत्रको नेतृत्व यस क्षेत्रले गर्नुपर्ने बताउनुभएको छ ।

काठमाडौँमा आयोजित नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको नवनिर्वाचित अध्यक्ष तथा उपाध्यक्षको सपथ ग्रहण एवं उत्कृष्ट वित्तीय प्रतिवेदन पुरस्कार वितरण कार्यक्रममा अर्थमन्त्री डा महतले उत्पादन क्षेत्रको नेतृत्व निजी क्षेत्रले गर्नुपर्ने बताउनुभएको हो ।
“पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा हुने लगानी र नियमनकारी भूमिका सरकारी क्षेत्रले निर्वाह गर्छ”, उहाँले भन्नुभयो, “निजी क्षेत्रको भूमिका अब व्यापारमा मात्रै केन्द्रित हुने होइन, कर्पोरेट कल्चरसहितको निजी क्षेत्र आवश्यक छ ।” निजी क्षेत्रले आफ्नो काम गर्ने पुरातन शैली परिवर्तन गरी थप व्यावसायिक बनाउन आवश्यक रहेको पनि उहाँले उल्लेख गर्नुभयो ।
पहिले तत्कालीन अर्थमन्त्री डा रामशरण महतले मूल्य अभिवृद्धि कर (भ्याट) लागू परेपछि निजी क्षेत्रले त्यसको विरोध गरे पनि पछि त्यसले व्यवसायमा पारदर्शिता कायम गरेको उहाँको भनाइ छ । त्यस्तै सरकारले चालु आर्थिक वर्षको बजेटबाट विभिन्न वस्तुमा दिइरहेको भ्याट छुट खारेज गरेकोले कर प्रणालीमा थप सुधार हुने अर्थमन्त्री डा महतले उल्लेख गर्नुभयो ।
लेखा परीक्षण व्यवसायीले आफ्नो अधिकारको दुरुपयोग गर्न नहुनेतर्फ पनि अर्थमन्त्री महतले सचेत गराउनुभयो । मन्त्री महतले लेखापरीक्षण व्यवसाय विधिको शासन र पारदर्शितासँग सोझै जोडिएको हुँदा त्यसको सुनिश्चितताका लागि जिम्मेवार भएर काम गर्न आवश्यक रहेको बताउनुभयो । अहिले लेखापरीक्षण व्यवसायमा आबद्ध हुनेको सङ्ख्या बढिरहेको र यो शिक्षा लिनेहरूको सङ्ख्या बढिरहेकाले नेपाललाई चार्टर्ड एकाउन्टेन्ट उत्पादन गर्ने शैक्षिक केन्द्रका रूपमा विकास गर्न सकिने अर्थमन्त्री डा महतको भनाइ छ ।
कार्यवाहक महालेखा परीक्षक राममाया कुँवरले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका नवनिर्वाचित अध्यक्ष सुजनकुमार काफ्लेलाई पद तथा गोपनीयताको सपथ गराउनुभयो । त्यस्तै, उपाध्यक्ष प्रवीणकुमार झाले अध्यक्ष काफ्लेसँग पद तथा गोपनीयताको सपथ लिनुभयो ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले प्रदान गर्ने उत्कृष्ट वित्तीय प्रतिवेदन पुरस्कारमा यस वर्ष बैङ्कतर्फ सिद्धार्थ बैङ्क लिमिटेड, वित्तीय सेवा क्षेत्रतर्फ मुक्तिनाथ विकास बैङ्क, ऊर्जा क्षेत्रतर्फ बुटवल पावर कम्पनी र उत्पादन क्षेत्रतर्फ बोटलर्स नेपाल लिमिटेडले पहिलो स्थान हासिल गरेका छन् ।








प्रतिक्रिया राख्नुहोस्