नेपालगन्जमा चार सय दक्ष स्वयंसेवक तयार पारिँदै
नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकामा विपद व्यवस्थापनलाई लक्षित गरी चार सय जना दक्ष स्वयंसेवक तयार गर्न थालिएको छ ।

युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ र युएन ओमनको साझेदारीमा नेपाल रेडक्रस सोसाइटी बाँके शाखा र सिडिएमको प्राविधिक सहयोगमा नेपालगन्ज उपमहानगरपालिकामा सञ्चालित सहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर प्रोजेक्ट) ले शिक्षक, सामाजिक अगुवा, युवा क्लबका सदस्यलाई आगजनी नियन्त्रण, प्राथमिक उपचार र खोज तथा उद्धार सम्बन्धि तालिम दिन सुरु गरेको हो ।
नेपाल रेडक्रस सोसाइटी बाँकेका उपनिर्देशक दोलखबहादुर डाँगी संयोजक रहेको तालिममा निरञ्जना मल्ल, झविलाल शर्मा, प्रल्हाद विश्वकर्मा र सुशील चौधरीले सहजीकरण गर्नुभएको थियो । प्राथमिक उपचार सम्बन्धि चार दिने तालिमको नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले उद्घाटन गर्नुभएको थियो भने उपप्रमुख कमरुद्दिन राईले समापनको अवसरमा सहभागीलाई प्रमाणपत्र र फस्ट एड किट वितरण गर्नुभएको थियो । तालिम समापन कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बाँकेका सभापति गोवर्धनसिंह सम्झना, नेपालगन्ज उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गोरखबहादुर थापा लगायतले बोल्नुभएको थियो ।
तालिममा प्राथमिक जाँच र सिपिआर प्रक्रिया, घाइतेको हातबाट भएको ठूलो रक्तस्राव र क्षोभ, गाडिएको घाउ, रोलर पट्टी बाँध्ने उपायहरूका विषयमा प्रयोगात्मक अभ्यास समेत गराइएको थियो । तालिममा नेपालगन्ज उपमहानगरपालिकाको वडा नम्बर ३ र ७ का दुई मदरसा, सात सामुदायिक विद्यालय, सामुदायिक अगुवा र युवा क्लबका गरी २५ जनाको सहभागिता रहेको थियो । सुपर प्रोजेक्टले नेपालगन्जमा आगजनी नियन्त्रण, प्राथमिक उपचार र खोज तथा उद्धारको १४ वटा तालिमबाट चार सय जना दक्ष स्वयंसेवक तयार गर्ने आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्