नेपाली कांग्रेस केन्द्रिय कार्यसमितिको बैठक आजदेखि सुरु
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रिय कार्यसमितिको बैठक आजदेखि सुरु भएको छ ।
पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको आज पहिलो दिनको बैठकमा विभिन्न चार वटा प्रतिवेदन प्रस्तुत भएका छन् ।
बैठकमा संघ तथा प्रदेश सरकारमा नेपाली काँग्रेसको सहभागिता र गतिविधिसम्बन्धी प्रतिवेदन पेस गर्नुहुँदै नेपाली कांग्रेसका उपसभापति एवं उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले ठूलो दल भएका नाताले नेपाली काँग्रेसमा सबै राजनीतिक दलहरूलाई साथमा लिएर अगाडी जाने र जनतालाई परिवर्तनको अनुभूति दिलाउने दायित्व रहेको बताउनुभयो ।

उपप्रधानमन्त्री खड्काले जनताको अपेक्षा पार्टीले सरकारमा गएर राम्रो काम गरोस् भन्ने रहेकाले सरकारले जनतालाई उत्साहित र प्रेरित गर्ने खालको काम गर्नुपर्ने बताउनुभयो ।
यस्तै केन्द्रीय समिति बैठकमा नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले पार्टीको वार्षिक कार्ययोजना पेस गर्नुहुँदै भदौ १५ गतेभित्र पार्टीका भातृ सङ्गठनहरूलाई पूर्णता दिने र भदौ मसान्तभित्र सबै भातृ सङ्गठनलाई पार्टी केन्द्रिय कार्यालयमा वार्षिक कार्ययोजना पेस गर्न लगाइने बताउनुभयो ।
महामन्त्री थापाले पार्टीको विधानमा ४८ वटा विभागको व्यवस्था रहेकोमा २२ वटा विभाग थप्ने प्रस्ताव पनि बैठकमा पेस गर्नुभयो ।
बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसदमा पार्टीको भूमिकासम्बन्धी प्रतिवेदन पेस गर्नुहुँदै संसदमा सबैभन्दा ठूलो दलको हैसियतले गठबन्धनको सरकारलाई स्थायित्व दिन काँग्रेसले सो अनुसारको भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।
प्रतिपक्षी दलसँग पनि समन्वयकारी भूमिका निर्वाह गर्दै अगाडि बढ्दा सबैलाई फाइदा हुने भएकाले त्यस अनुकूल भूमिकाका साथ नेपाली काँग्रेस सदनमा प्रस्तुत हुनुपर्नेमा पनि प्रमुख सचेतक लेखकले जोड दिनुभयो ।
यस्तै बैठकमा अनुशासन समितिका संयोजक आनन्द ढुङ्गानाले समितिले तयार पारेको प्रतिवेदन पेस गर्नुभयो भने निर्वाचन परिचालन समितिका संयोजक गोपालमान श्रेष्ठले निर्वाचन परिचालन समितिको प्रतिवेदन पेस गर्नुभएको थियो ।
यस अघि बैठकको सुरुमा काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बैठकमा समसामयिक राजनीतिक विषय, आर्थिक, सामाजिक, परराष्ट्र, सुशासन, साङ्गठनिक कार्ययोजना, नीति महाधिवेशन, विभागहरूका गठन लगायतका विषयमा छलफल हुने जानकारी गराउनुभएको थियो ।
केन्द्रीय समिति बैठकमा ती विषयमा भोलिदेखि छलफल सुरु हुने छ । नेपाली काँग्रेस केन्द्रीय समितिको अर्को बैठक भोलि बिहान ११ बजेदेखि पुनः बस्नेछ ।








प्रतिक्रिया राख्नुहोस्