सप्तरीमा सर्प दंशबाट एक महिलाको मृत्यु

सप्तरी । सप्तरीको अग्नीसाइर कृष्णासवरणमा सर्प दंशबाट आज एक महिलाको मृत्यु भएको छ ।
सर्पको टोकाइबाट जिल्लाको अग्नीसाईर कृष्णासवरण गाउँपालिका २ भुर्कीका नाथु चौधरीको ४० वर्षीय श्रीमती ललितादेवी चौधरीको मृत्यु भएको हो ।
आफ्नै घरमा सोमबार राती ९ बजे धान राख्ने कोठामाथि कन्तिमा राखेको सुपारी झिक्ने क्रममा सर्पले टोकेर सख्त घाइते भएकी ललितादेवीको उपचारको क्रममा मृत्यु भएको उनका श्रीमान् नाथु चौधरीले बताउनु भयो ।
सर्पले टोकेको थाह हुनसाथ सर्पदंश उपचार केन्द्र कल्याणपुर उपचारको लागि भर्ना गरिएको थियो । त्यहाँ उपचार नभएपछि राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पताल लगिएकोमा त्यहाँ चिकित्सकहरूले मृत घोषणा गरेका थिए ।
मृतकको शव घरमा ल्याई अन्त्येष्टिकाे तयारी भएको परिवारले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्