तपाईँ सुन्दै हुनुहुन्छः

खुदोले चिनिएको गाउँ ढोडबेँसी र मालेपाटन

लेखनाथ I पोखरा–३२ मालेपाटन निवासी ७५ वर्षीय लालकान्त अधिकारीले उखु खेती गर्न थालेको ५० वर्ष पुगिसक्यो, बाबुबाजेका पालादेखि अँगाल्दै आएको उखु खेती उमेरले नेटो काटिसक्दा पनि उहाँले छाड्न सक्नुभएको छैन । 

‘चार छोरा, बुहारी र नातिनातिना छन् तर उनीहरू उखु खेती गर्दैनन्, उखु खेती गर्न दुःख छ, दुई पटक त गोडमेल नै गर्नुपर्छ, रोगका किराबाट जोगाउनु पर्छ, उत्पादन हुन कम्तीमा १० महिना कुर्नुपर्छ,  तर आम्दानी भने धानभन्दा दोब्बर हुन्छ, कृषक अधिकारीले भन्नुभयो, “अघिल्लो वर्ष चार रोपनीमा लगाएको उखु र खुदो बिक्रीबाट रु साढे दुई लाख आम्दानी गरँे ।”

“पुरानो जमाना त्यति बेला पैसा देख्न पाइँदैनथ्यो, खेतमा सिँचाइ पनि थिएन, पुर्खाहरूले धानको विकल्पमा उखु खेती गर्दै आएका रहेछन्, वर्षभरि उखु खेती गरी उत्पादन गरेको खुदो बिक्रीबाट छोराछोरीको शिक्षादीक्षा, पालनपोषण र वर्षभरि लागेको ऋण तिर्ने गरेको इतिहास पोखरा–३२ को मालेपाटन र ढोड बेँसीले बोकेका छन्”, अधिकारीले भन्नुभयो, “युवा पुस्ता उखु खेतीभन्दा पनि विदेश जान रुचाउने गर्छन् ।”

ढोड बेँसी र मालेपाटनमा उत्पादित खुदो पोखरा बजारमा प्रख्यात छ, पुस १५ र माघे सङ्क्रान्तिमा घरबाट खुदो खोसाखोस हुने गरेको उखु किसान यज्ञप्रसाद अधिकारीको भनाइ थियो  । विगतका दिनहरूमा खुदो बिक्रीका लागि गाग्री र टिनहरूमा बोकेर पोखरा बजार जानुपर्थ्यो तर १५ वर्षयता  गाउँबाट नै बिक्री हुने गरेको छ, बाँकी रहेको खुँदो स्थानीय मालेपाटन कृषि सहकारी संस्थाले  प्रशोधन गरी बिक्रीका लागि बजारमा लाने गरेको छ । 

यति बेला ढोडबेँसीमा तीन सय र मालेपाटनमा एक सय रोपनी जमिनमा उखु खेती गरिँदै आएको छ । उखु खेती प्रतिवर्ष घट्दो क्रममा छ । यहाँका ७० भन्दा बढी किसान व्यावसायिक उखु खेतीमा लागेका छन् । पोखरा महानगरपालिकाको यस वर्ष एक वडा एक पकेट क्षेत्र कार्यक्रमअन्तर्गत पोखरा–३२ को ढोड बेँसी र मालेपाटनलाई उखु पकेट क्षेत्र घोषणा गरी कृषि अनुदान सहयोग सुरु गरेको छ । चार सय रोपनी जमिनमा लगाइएको उखुबाट वार्षिक रु दुई करोडको खुदो उत्पादन हुने गरेको किसान पद्मराज तिवारीले सुनाउनुभयो । 

उखु खेतीसँगै उनीहरूले पशुपालनसमेत अगाडि बढाएका छन् । कास्कीमा व्यावसायिक रूपमा उखु खेती गरिने एक मात्र ठाउँ भनेकै ढोड बेँसी र मालेपाटनलाई  मानिँदै आइएको छ । स्थानीय किसान मोहन धमलाले भन्नुभयो, “चैत, वैशाखदेखि उखु खेतीको तयारी सुरु गरी पुस माघसम्म बाली भित्र्याउँछौ ।” उखुलाई अन्य बालीमा जस्तो पर्याप्त सिँचाइको आवश्यकता पर्दैन । खेतीयोग्य फाँट भए पनि ढोडबँेसीमा सिँचाइ सुविधा छैन । तराईमा उखुबाट चिनी वा सक्खर बनाइन्छ । पहाडमा भने उखुबाट खुदो नै बनाइन्छ । उखुका लाँक्रा पनि बिक्छन् । पहाडमा चाम्रे बनाउँदा पनि खुँदो हाल्ने चलन छ । कोदाको ढिँडोलाई खुँदोमा डुबाएर खाने पनि गरिन्छ । 

उखुको पकेट क्षेत्र घोषणा गर्दै पोखरा महानगरपालिकाले उखु किसानलाई प्रोत्साहन, रोग तथा किरा नियन्त्रण र प्याकेजिङका लागि गत सोमबार रु १० लाख २० हजार प्रदान गरेको थियो । महानगरपालिकाको कृषि तथा पशु विकास महाशाखाका प्रमुख मनोहर कडरियाले उनीहरुलाई उक्त सहयोग रकम हस्तान्तरण गर्नुभएको हो । उहाँले उखुसँगै कागती उत्पादनमा पनि उपयुक्त जमिन रहेको जानकारी दिँदै कागती खेतीमा समेत लाग्न किसानलाई सुझाव दिनुभयो ।  

“उखुको पात र बारीमा उम्रिएका घाँस तह लगाउन पनि गाईभैँसी पाल्नुपर्ने रहेछ, स्थानीय कृषक लीलादेवी धमलाले भन्नुभयो, “उखुबारी भित्रै पनि घाँस खेती गर्न सकिने भएकाले उखु र पशुपालन एकअर्काका सहायक  भएका हुन् ।”

बाँदर, दुम्सीलगायत जङ्गली जनाबरबाट उखुखेती जोगाउनुपर्ने भएकाले किसानलाई हैरानी भएको कृषक धमलाले सुनाउनुभयो । यहाँका किसानले बाँसकडा, जीतपुर, ग्यामरालगायत स्थानमाा उखु उत्पादन गर्दै आएका छन् । पोखरा–३२ का वडासदस्य तीर्थराज ओझाले पकेट क्षेत्र घोषणासँगै रोजगारीका लागि विदेश पुगेका युवालाई पनि उखुखेतीतर्फ आकर्षण गर्नुपर्नेमा जोड दिनुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button