बाँकेमा ट्राफिक नियमनलाई प्रविधिमैत्री बनाउन पहिलोपटक टिभीआरएस लागु

नेपालगन्ज । बाँकेमा ट्राफिक प्रहरीबाट हुने कारबाही तथा राजश्व सङ्कलन पहिलोपटक ट्राफिक भ्वाइलेन्स रेकर्ड प्रणाली (टिभीआरएस) बाट गर्न सुरु गरिएको छ ।
सवारी साधनसम्बन्धी नियम उल्लङ्घन कसुरहरूको जरिवानाबापत हुने राजश्व सङ्कलन बैङ्किङ प्रणालीबाट हुन थालेको हो । जिल्लामा पहिलोपटक चालू आर्थिक वर्षको सुरुवातसँगै ट्राफिक नियम उल्लङ्घन बापतको जरिवाना रकम बैङ्कमार्फत भुक्तानी गर्नुपर्ने भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले ट्राफिक नियम उल्लङ्घन बापतको जरिवाना रकम असुली गर्दा रसिद दिने गरेकोमा अब बैङ्कमार्फत भुक्तानी गर्नुपर्नेछ ।
ट्राफिक नियमन र अनुगमनलाई प्रविधिमैत्री बनाउने उद्देश्यले ट्राफिक भ्वाइलेसन रेकर्ड प्रणाली (टिभीआरएस) लागू गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक तिलक सुनारले जानकारी दिनुभयो । मापसे, मापसे, तीव्र गतिमा सवारी चलाउनेको पुष्टि गर्न परीक्षणमा प्रविधि अपनाइएको सुनारले बताउनुभयो ।
‘जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई प्रविधिमैत्री बनाउने प्रयास गरेका हौँ । ट्राफिक नियम उल्लघंनमा हुने जरिवाना अब सिधै बैङ्कमा दाखिला हुनेछ’, बाँके ट्राफिक प्रहरी प्रमुख सुनारले भन्नुभयो, ‘त्यसका लागि बैङ्क पुगेर भौचर भरेर जम्मा गर्न सकिने तथा सिधै भुक्तानीका एपहरूको प्रयोग गर्न सकिनेछ ।’ यसअघि ट्राफिकले जरिवाना राजश्व असुली गर्दा रसिदमार्फत भुक्तानी लिँदै आएको थियो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके कोहलपुर, अस्थायी ट्राफिक प्रहरी पोष्ट नेपालगन्ज र चिसापानीमा ट्राफिक प्रहरीबाट हुने कारबाही तथा राजश्व सङ्कलन अब टिभीआरएसबाट हुने भएको हो ।








प्रतिक्रिया राख्नुहोस्