तपाईँ सुन्दै हुनुहुन्छः

अध्यक्षमाथि हातपात गरेको आरोपमा गाउँपालिका उपाध्यक्ष प्रहरी नियन्त्रणमा

जुम्ला । जुम्लाको गुठीचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढामाथि कार्यकक्षमै हातपात गरेको आरोपमा उपाध्यक्ष शान्तिकुमारी मल्ल भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उपाध्यक्ष भण्डारी पालिकाबाट जिल्ला प्रहरी कार्यालयमा आफैँ पुग्नुभएको थियो । 

उपाध्यक्ष भण्डारीमाथि अध्यक्षको कार्यकक्षमा प्रवेश गरेर हातपात गरेको आरोप छ । गाउँपालिका प्रवक्ता अर्जुन महताराका अनुसार उपाध्यक्ष भण्डारीले अध्यक्ष बुढालाई थप्पड र चप्पल प्रहार गर्नुभएको थियो । गाउँपालिका अध्यक्ष बुढाले जिल्ला प्रहरी कार्यालय जुम्लामा जाहेरी दिएको गाउँपालिका प्रवक्ता महताराले जानकारी दिनुभयो । 

कार्यालय समय सकिएकाले आइतबार जाहेरी दर्ता हुन सकेको थिएन । सोमबार बिदा परेकाले मङ्गलबार कार्यालय खुल्ने बित्तिकै जाहेरी दर्ता हुने जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक प्रह्लाद कार्कीले बताउनुभयो । 

अध्यक्ष बुढाले बजेट निर्माणदेखि पालिकामा भइरहेका काम कारबाही चित्त नबुझे छलफलका माध्यमबाट समाधान गर्न सकिने पर्याप्त सम्भावना हुँदाहुँदै उपाध्यक्ष भण्डारीले आफूमाथि हातपात गरेको बताउनुभयो । 

उपाध्यक्ष भण्डारीले भने अध्यक्ष बुढाले मनपरी बजेट विनियोजन गरेको र आफ्नो अधिकार खोसेको बताउनुभयो । कार्यपालिकाको बैठकले उक्त घटनाप्रति दुःख व्यक्त गरेको छ । गाउँपालिकाको बजेट पनि आइतबार नै अनुमोदन भइसकेको छ । 

घटनाबारे उपाध्यक्ष भण्डारीसँग सोधपुछ भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी धर्मराज जोशीले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button