तपाईँ सुन्दै हुनुहुन्छः

एन्फा यू १६ लिग फुटबल : शनिबार ४ वटा खेल सम्पन्न

काठमाडौँ । एन्फा यू १६ लिग फुटबल प्रतियोगितामा शनिबार ४ वटा खेल सम्पन्न भएका छन् । राजधानीका विभिन्न मैदानमा प्रतियोगिता अन्तर्गतका खेलहरू भएका हुन् ।

एन्फा मैदान सातदोबाटोमा भएको खेलमा फ्रेन्ड्स क्लब यु १६ ले चर्च ब्वाइज युनाइटेड यु १६ लाई २–० गोल अन्तरले पराजित गर्‍यो । फ्रेन्ड्सको जितमा अर्जित तामाङले दुवै गोल गरे ।

अर्को खेलमा नेपाल पुलिसको विजयी सुरुआत गरेको छ ।

च्यासल मैदानमा एपीएफ क्लबले सङ्कटा क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको छ । सुरुआती अग्रता भने सङ्कटा क्लबले लिएको थियो । १९ औँ मिनेटमा सौरभ तामाङले गोल गर्दै सङ्कटालाई अग्रता दिलाएका थिए ।

तर ५२ औँ मिनेटमा एपीएफले बराबरी गरेको थियो । एपीएफका रोहित गोलेले गोल गर्दै खेल बराबरीमा ल्याए । ८३ औँ मिनेटमा विकास बोहोराले गोल गरेपछि एपीएफ यू १६ सहज जित निकाल्दै प्रतियोगितामा सुखद् सुरुआत गर्न सफल भयो ।

सैनिक आवासीय महाविद्यालय भक्तपुरमा भएको खेलमा न्यूरोड टिम एनआरटीले त्रिभुवन आर्मीलाई ५–१ गोल अन्तरले पराजित गर्‍यो । एनआरटीका सन्तोष गोंगबा एक्लैले ५ गोल गरेका हुन् ।

च्यासल मैदानमा भएको खेलमा मछिन्द्रले खुमलटार युवा क्लबलाई ६–१ गोलको फराकिलो अन्तरले पराजित गरेको छ । मच्छिन्द्रको जीतमा सविनय कटुवाल र भुपेन्द्र दरालाले दुई/दुई गोल गर्दा कबिर तामाङ र स्याङ्गे योर्गेन दोर्जे योञ्जनले एक/एक गोल गरेका थिए । खुमलटारका लागि एलिक श्रेष्ठले १ गोल फर्काएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button