‘सहकारी क्षेत्रमा देखिएको समस्यालाई संवादमार्फत टुङ्ग्याउनुपर्छ’

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले सहकारी क्षेत्रमा देखिएको समस्यालाई संवादमार्फत टुङ्ग्याउनुपर्ने बताउनुभएको छ ।
बैठकको आकस्मिक समयमा सांसदहरुले सहकारी पीडितहरूको समस्यालाई आपसी संवादका माध्यमबाट टुङ्ग्याउनुपर्ने बताउनुभयो ।
सांसदहरुले श्रमिकहरूको न्यूनतम ज्याला समयानुकूल हुन नसकेको भन्दै न्यूनतम ज्याला तत्काल वृद्धि गर्न सरकारसँग माग गर्नुभयो ।
बैठकमा सांसदहरुले विगतदेखि गुठीको समस्याबाट पीडित नागरिकको यथाशीघ्र समस्या समाधान गर्नुपर्ने र किसानहरूलाई जग्गाको लालपूर्जा दिनुपर्नेमा जोड दिनुभयो ।
सांसदहरुले लम्पी स्किन रोगको प्रकोपबाट पशु चौपायाको मृत्यु हुने क्रम जारी रहेको हुँदा पशु चौपायहरुको बीमा गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
बैठकमा मुलुकमा हवाई यात्रा असुरक्षित हुँदै गएकोप्रति सरकारको ध्यानाकर्षण गराउनुहुँदै सांसदहरुले हवाई यात्रालाई सुरक्षित र मर्यादित बनाउन सरकार गम्भीर हुनुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै, सांसदहरुले वास्तविक किसानहरूको पहिचान गरी क्षतिपूर्ति दिनुपर्ने, बाढीबाट प्रभावित भएकाहरूलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने, किसानलाई सिँचाइको व्यवस्था गर्नुपर्ने, वैदेशिक रोजगारमा जाने कामदारहरूलाई व्यवस्थित र सुरक्षित ढंगले पठाउनुपर्ने लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्