तपाईँ सुन्दै हुनुहुन्छः

लापसे गरेर गाडी चलाउने एक सय ५९ जना कारबाहीमा

काठमाडौँ । आर्थिक वर्ष २०७९/८० मा लागूपदार्थ सेवन (लापसे) गरी सवारी साधन चलाउने एक सय ४९ जना चालकमाथि कारबाही गरिएको छ ।

File Photo

काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले गरेको जाँच अभियानका क्रममा लागूपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका चालकलाई नियन्त्रणमा लिई आवश्यक कारबाही गरिएको हो ।

नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय लागुऔषध नियन्त्रण ब्यूरो र सम्बन्धित प्रहरी कार्यालयको संयुक्त प्रयासमा काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा चालकलाई जाँच अभियान चलाउने गरिएको छ ।

सोही क्रममा चालकले लागुऔषध सेवन गरी सवारी साधन चलाए/नचलाएको सम्बन्धमा टिएचसी किटको प्रयोग गरी २०७९ साउन ९ गतेबाट जाँच अभियान सुरु गरिएको थियो ।

लापसे गरी सवारी साधन चलाउने चालकमध्ये भाडाका सवारी साधन चलाउने चालक पनि रहेकाले यात्रु बोक्नेजस्तो संवेदनशील सवारी साधन चलाउने चालकले नै लागूपदार्थ सेवन गरी सवारी साधन चलाउनु आफैँमा निन्दनीय कार्य भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले बताउनुभयो ।

यसरी सवारी साधन चलाउँदा चालकको मात्र नभई यात्रुहरूको जीवन समेत जोखिममा पर्ने भएकाले आफू सवार सवारी साधनका चालकले लागूपदार्थ तथा मादक पदार्थ सेवन गरेको शङ्का लागेमा यात्रुले तत्काल नजिकैको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रुमको हटलाइन नम्बर १०३ र प्रहरीको हटलाइन नम्बर १०० मा खबर गर्नुहुन अनुरोध गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button