प्रधानमन्त्री जीवन सङ्गिनी सीताप्रति श्रद्धाञ्जली अर्पण
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को जीवन सङ्गिनी सीता दाहालको निधनप्रति विभिन्न राजनीतिक दलका नेता, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिले दुःख व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटार पुगेर उहाँहरूले बुधबार निधन हुनुभएकी सीताको तस्बिरमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गर्नुभएको हो । साथै उहाँहरूले शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
त्यसअघि आज बिहान प्रधानमन्त्री प्रचण्डले सीताको तस्बिरमा पुष्प गुच्छा अर्पण गर्नुभयो । नेकपा (माओवादी केन्द्र)का नेताहरू पम्फा भुसाल, वर्षमान पुन, मातृका यादव, ओनसरी घर्ती लगायतले श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।

यस्तै नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल लगायत विभिन्न पार्टीका नेताहरूले बालुवाटार पुगेर दिवङ्गत सीताको तस्बिरमा पुष्प गुच्छा अर्पण गर्नुभएको थियो ।
आजै शुभेच्छुक तथा यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिले श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो । नेपालका लागि कोरियाली राजदूत तेइ योङ्ग पार्क, दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का महासचिव इसाला श्रवान विराकून, नेपालका लागि रसियन राजदूत अलेक्सेय नोभिकोभ, नेपालका लागि चिनियाँ राजदूत चेन सङ, नेपालका लागि बङ्गलादेश, इजरायल, श्रीलङ्का, फिनल्याण्ड, उत्तर कोरिया लगायत देशका राजदूतहरू बालुवाटार पुगेर दिवङ्गत सीताप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।

प्रधानमन्त्रीको सचिवालयले समवेदना प्रकट गर्न आउने शुभेच्छुकका लागि आज र भोलि बिहान ८ः०० देखि १० बजेसम्म र अपराह्न ४ः०० देखि साँझ ६ः०० बजेसम्मका लागि समय निर्धारण गरेको थियो ।








प्रतिक्रिया राख्नुहोस्