बुटवलमा मोटरसाइकल चोरी गर्ने १३ जनाको गिरोह पक्राउ

रुपन्देही । इलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीले एक महिनायता विशेष अप्रेसन चलाएर १४ वटा हराएका मोटरसाइकल र १३ जना गिरोहलाई पक्राउ गरेको छ । प्रहरीले विभिन्न मितिमा हराएर भेटिएका १४ वटा मोटर साइकल र गिरोहका सदस्यहरूलाई सोमबार सार्वजनिक गरेको छ ।
केही महिनायता मोटरसाइकल चोरीका घटना बढेपछि प्रहरीले विशेष अपरेसन सञ्चालन गरेर पक्राउ गर्न सकेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले जानकारी दिनुभयो । थापाले बुटवल र तिलोत्तमा क्षेत्रमा अत्यधिक मोटरसाइकल चोरीका घटना भएको बताउनुभयो । एक महिनाअघिबाट विशेष टोली खटाएर अभियान चलाउँदा सफलता हात लागेको उहाँले बताउनुभयो ।
पक्राउ पर्नेमध्ये ६ जना एउटै गिरोहका छन् । बाँकी २/३ जनाको समूहमा काम गर्ने रहेको उहाँले बताउनुभयो । उनीहरूले सवारी साधनको रेकी गर्ने, मिलेर चोर्ने, चोरीको साधन लुकाउने, ग्राहक खोज्ने र बिक्री गर्ने जस्ता काम बाँडेर गरेको उहाँले दाबी गर्नुभयो । अझै पनि चोरीको धेरै सवारी साधन नभेटिएको भन्दै उनले अनुसन्धान जारी हुँदा ठुलै समूह बाँकी रहेको बताउनुभयो । चोरीका सवारी साधनहरू गुल्मी, स्याङ्जा, बागलुङ, काठमाडौँसम्म पुगेको हुँदा सहकार्य गरी फिर्ता ल्याउन सफल भएको उहाँले बताउनुभयो । पक्राउ परेका व्यक्ति उपर सवारी साधन चोरी कसुरमा मुद्दा दर्ता भएर आवश्यक कानुनी प्रक्रिया अघि बढेको उहाँले बताउनुभयो ।
पक्राउ पर्नेहरूमा बुटवल उपमहानगरपालिका वडा नं ३, ज्योतीनगरका १९ वर्षीय तरुन राना, नवलपरासी रामग्रामका ४३ वर्षीय सुनिल कुमार चौधरी, २० वर्षीय करण थारु, गुल्मी घर भई हाल तिलोत्तमा नगरपालिका वडा नं ५ का २६ वर्षीय सरोज थापा, २६ वर्षीय दिपक रेगामी मगर, तिलोत्तमा–६ का २४ वर्षीय दिपेश थापा, २५ वर्षीय हितेश राना, बाग्लुङ वरेङ गापा वडा नं। ५ का १९ वर्षीय आशिष सामत, २० वर्षीय दिपक सामत, २९ वर्षीय गोरे भन्ने प्रमोद पुर्जा, २२ वर्षीय मिलन खत्री, तिलोत्तमा नगरपालिका वडा नं ४ का १८ वर्षीय आकाश नेपालीलाई सार्वजनिक गरेको हो । चोरी भएका साधनमा बढी बजाज पल्सरसहित सुपर स्पेलन्डर र यामाहाका समेत रहेका छन् । भेटिएका १४ मोटरसाइकलमध्ये ७ जना मालिक सम्पर्कमा आएका छन् ।








प्रतिक्रिया राख्नुहोस्