रेडियो नेपालद्वारा सरोकारवालासँग अन्तरकृया सम्पन्न

काठमाडौँ । रेडियो प्रसार सेवा विकास समिति (रेडियो नेपाल) ले मन्त्रालय, विभाग, सरकारी तथा गैर सरकारी सङ्घ, संस्था, प्रतिष्ठान,एजेन्सी लगायतको सहभागितामा रेडियो नेपालको प्रसारण प्रविधि एवं कार्यक्रम तथा समाचार सम्बन्धी अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ ।

काठमाडौँको नयाँ बानेश्वरामा आइतबार आयोजित कार्यक्रममा बोल्दै प्रमुख अतिथि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सह सचिव नेत्र प्रसाद सुवेदीले रेडियो नेपालले पछिल्लो समय आफूलाई परिष्कृत गर्दै लगेको भन्दै खुसी व्यक्त गर्नुभयो । उहाँले सरकारी निकायका सूचना प्रसारणमा रेडियो नेपालले खेलेको भूमिका महत्त्वपूर्ण रहेको भन्दै यस कार्यका लागि अझै रचनात्मक भूमिका खेल्नु पर्नेमा जोड दिनुभयो । सह-सचिव सुवेदीले मुलुकभर रेडियो नेपालको कभरेज क्षेत्र ९२ प्रतिशत पुग्नु सुखद भए पनि यसलाई शतप्रतिशत पुर्याउनु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा बोल्नुहुँदै विशेष अतिथि एवं सङ्घीय संसद् सचिवालयकी सहसचिव बबिता मिश्रले रेडियो नेपालले पछिल्लो समय डिजिटल सामाग्री उत्पादन गर्नु एकदमै सुखद पक्ष भएको बताउनुभयो । संसद् सचिवालयले गरेको सर्वेक्षणमा समेत रेडियो नेपालको श्रोता सबैभन्दा धेरै देखिएको बताउँदै संविधान कार्यान्वयनका क्षेत्रमा रेडियो नेपालले खेलेको भूमिका अत्यन्तै प्रशंसनीय रहेको उहाँले बताउनुभयो ।

विभिन्न भाषा, भाषी, समुदाय तथा विपन्न वर्गमा मानिसहरूको आवाजलाई रेडियो नेपालले मुखरित गरेको भन्दै उहाँले आगामी दिनमा रेडियो नेपाल थप परिष्कृत भएर अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा बोल्नुहुँदै रेडियो नेपालका बोर्ड सदस्य सिताराम पोखरेल रेडियो नेपालले गीत सङ्गीत क्षेत्रको विकासका लागि खेलेको भूमिका स्मरण योग्य रहेको बताउँदै आगामी दिनमा पनि सञ्चार तथा सङ्गीत क्षेत्रमा थप प्रभावकारी भूमिका खेल्नु पर्ने बताउनुभयो । उहाँले रेडियो नेपालले पछिल्लो समय डिजिटल प्लेटफर्ममा गरेको प्रगति अत्यन्तै तारिफ योग्य रहेको बताउनुहुँदै रेडियो नेपाल भित्रका कुनै पनि समस्या समाधान गर्न बोर्ड सधैँ तत्पर रहेको बताउनुभयो ।

कार्यक्रममा बोल्नु हुँदै नेपाल विज्ञापन सङ्घका वरिष्ठ उपाध्यक्ष नारायणकुमार श्रेष्ठले रेडियो नेपालले दूर दराजका आवाज विहीनहरूका आवाजलाई सधैँ प्राथमिकता दिएको भन्दै विज्ञापनका माध्यमबाट आफूहरूको सधैँ सहयोग रहिरहने बताउनुभयो । उहाँले रेडियो पनि नेपालको कभरेज एरिया सबैभन्दा ठुलो भएको र श्रोता पनि सबैभन्दा धेरै रहेकाले विज्ञापनदातासँग समन्वय गरेर अझ धेरै विज्ञापनका लागि पहल गरिने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्नु हुँदै रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले रेडियो नेपालले पछिल्लो समय प्रवृत्तिमैत्री हुँदै गइरहेको बताउनुभयो । उहाँले रेडियो नेपाललाई अब सुन्ने रेडियोबाट हेर्ने रेडियो बनाउने अभियानमा आफूहरू लागिरहेको बताउनुभयो ।
उहाँले पछिल्लो समय रेडियो नेपालले समाचारसम्बन्धी अनलाइन तथा सामाजिक सञ्जालका माध्यमबाट पनि डिजिटल कन्टेन दिइरहेको बताउनुभयो । उहाँले रेडियो नेपालका सम्पूर्ण सामाग्रीहरू रेडियो नेपालको एप्सबाट हेर्न र सुन्न सक्ने व्यवस्था मिलाइएको पनि कार्यक्रममा जानकारी दिनुभयो । उहाँले रेडियो नेपालले अहिले २० भाषामा कार्यक्रम, २१ भाषामा समाचार प्रसारण गरिरहेको बताउनुभयो ।
उहाँले यो वर्ष थप दुई भाषामा समाचार प्रकाशन गर्ने गरी तयारी भइरहेको जानकारी दिनुभयो । रेडियो नेपालले सङ्घीयताको मर्म अनुसार आफूलाई परिष्कृत गर्दै लगिरहेको बताउँदै रेडियो नेपालले प्रादेशिक प्रसारणका माध्यमबाट स्थानीय जनसमुदायका आवाजहरूलाई समेटिरहेको बताउनुभयो । उहाँले अहिले पनि रेडियो नेपालको दैनिक श्रोता १३ लाखभन्दा बढी भएको र डिजिटल प्लेटफार्म मार्फत थप लाखौँले रेडियो सुनिरहेको बताउनुभयो । उहाँले रेडियो नेपालको एप्स मार्फत हात हातमा रेडियो पुर्याउने अभियान चलाइएको भन्दै यसलाई थप परिष्कृत गर्दै लैजानका लागि आवश्यक सुझाव सबैले दिनेमा विश्वास गर्नुभयो ।

कार्यक्रममा नायब कार्यकारी निर्देशक खगेन्द्र खत्रीले अतिथिहरूलाई स्वागत मन्तव्य राख्नु हुँदै रेडियो नेपाललाई समय सापेक्ष बनाउन र थप परिष्कृत गर्ने कार्यमा आफूहरू सधैँ तत्पर रहेको बताउँदै यस कार्यका लागि सबैको सहयोग, सहकार्य र सक्रियता उत्तिकै आवश्यक रहेकोमा जोड दिनुभयो ।

कार्यक्रममा रेडियो नेपालका नायव कार्यकारी निर्देशक कृष्ण चन्द्र पौडेलले रेडियो नेपालले पछिल्लो समय प्रयोग गरिरहेका प्रविधि, प्रसारणका माध्यम र श्रोता सर्वेक्षण लगायतका विषयमा प्रस्तुति दिनुभएको थियो । कार्यक्रमको सञ्चालन रेडियो नेपालकी अंग्रेजी सम्पादक डेला प्रसाईँले गर्नुभएको थियो ।










प्रतिक्रिया राख्नुहोस्