‘मिटर ब्याज पीडितलाई न्याय दिलाइ छाड्छौँ’
काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटर ब्याजबाट पीडितलाई सरकारले न्याय दिलाएरै छाड्ने बताउनुभएको छ ।

नयाँ बानेश्वरमा आज मिटर ब्याजबाट पीडितहरूको धर्ना स्थल पुगेर सम्बोधन गर्दै उहाँले पीडितलाई न्याय दिलाउने विश्वास दिलाउनुभयो । “तपाँइहरुलाई म आश्वस्त बनाउन चाहन्छु की मिटर ब्याजबाट पीडितलाई न्याय प्रदान गरी छाड्छौँ”, उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो, “मिटर ब्याजबाट पीडितलाई न्याय दिलाउने काम कुनै पनि हालतमा रोकिने छैन ।”
उहाँले पीडकहरूको विरुद्ध पीडितलाई न्याय दिनका निम्ति सरकारले मिटर ब्याजीसम्बन्धी अध्यादेश ल्याएको र अध्यादेशको निश्चित अवधि भएको हुनाले कानुन बनाउनका लागि संसद्मा प्रस्तुत भएको तर पारित हुन नसकेको भन्दै विधेयक चाँडै अगाडि बढाउने विश्वास व्यक्त गर्नुभयो ।

उपप्रधानमन्त्री श्रेष्ठले अध्यादेश जारी गर्नुभन्दा अगाडि नै सरकारले मिटर ब्याजी पीडितको माग सम्बोधन गर्न मिटर ब्याजसम्बन्धी छानबिन गर्न आयोग गठन गरेको स्मरण गर्दै आयोगको काम नरोकिने बताउनुभयो । उहाँले हरेक जिल्ला प्रशासन कार्यालयमा सरकारी वकिलहरू र पीडितका प्रतिनिधिहरू संलग्न रहेको सहजीकरण समितिले अहिले पनि कार्य जारी रहेको जानकारी दिनुभयो ।
उहाँका अनुसार आयोगमा करिब २५ हजार उजुरी परेका छन् । ती उजुरीमाथि छानबिनको प्रक्रिया अघि बढेको छ । अहिले करिब एक हजार पाँच सय उजुरीमाथि छानबिन भएर पीडितको पक्षमा फैसला भइसकेको छ । कतिपय मिटर ब्याजीले कब्जा गरेको घर, जमिन पीडितलाई फिर्ता गरिसकेका छन् ।
यो उपलब्धिलाई अब नेपालको कुनै पनि तागतले रोक्न नसक्ने भन्दै उपप्रधानमन्त्री श्रेष्ठले पीडितलाई न्याय दिलाएरै छाडिने दोहोर्याउनुभयो ।
रासस








प्रतिक्रिया राख्नुहोस्