धौलिगङ्गा बाँध खोलिने : महाकाली किनारमा नजान आग्रह
बैतडी । महाकाली नदीको जलस्तर बढ्ने भन्दै सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय बैतडीले आग्रह गरेको छ ।
एक सूचना जारी गर्दै प्रशासन कार्यालयले भारतस्थित तपोवन धार्चुलाको धौलिगङ्गा जलविद्युत् परियोजनाको बाँध खोलिने भएकाले सतर्कता अपनाउन आग्रह गरेको हो ।
वर्षात्का कारण परियोजनाको जलाशयमा पानीको प्रवाह दिनप्रतिदिन वृद्धि हुँदै गएकाले बाँधको ढोका खोलिने धौलिगङ्गा पावर स्टेशन धार्चुलाबाट जानकारी प्राप्त भएकाले सतर्कता अपनाउन आग्रह गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिनुभयो ।
लगातारको वर्षा र बाँध खोलिएपश्चात् महाकाली नदीमा जलस्तर बढ्ने सम्भावना बढी भएकाले नदी आसपासका नागरिकलाई सचेत रहन र नदी वारपार नगर्न आग्रह गरिएको उहाँले बताउनुभयो ।
दार्चुलादेखि बैतडी, डडेल्धुरा, कञ्चनपुर भएर भारततिर बग्ने महाकालीमा पानीको बहाव र सतह बढ्न सक्ने भएकाले नदी छेउछाउमा नजान र सतर्कता अपनाइराख्न स्थानीय प्रशासनले पनि अनुरोध गरेको छ ।
धौलिगङ्गा जलविद्युत् परियोजनाको बाँध वर्षात्का बेला हरेक वर्ष खोलिने गर्दछ । परियोजनाको बाँध खोल्नु पूर्व सतर्कताका लागि जानकारी गराउने गरिएको छ । विसं २०७० असार २ र ३ गते एक्कासी धौलीगङ्गाको बाँध खोलेपछि दार्चुला सदरमुकाममा एक सयभन्दा बढी घर बगाउनुका साथै अर्बौँ रुपैयाँको क्षति भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्