जनताको बहुदलीय जनवादको औचित्य वृद्धि हुँदै : अध्यक्ष ओली
काठमाडौँ । पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली राजनीतिमा जननेता मदन भण्डारीले प्रतिपादन गर्नुभएको जनताको बहुदलीय जनवादको औचित्य लोकप्रियताका साथ वृद्धि हुँदै गएको बताउनुभएको छ । .

जननेता भण्डारीको ७२ औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी कला साहित्य प्रतिष्ठानले आज काठमाडौँमा आयोजना गरेको मदन भण्डारीको व्यक्तित्व र कृतित्व विषयक विचार गोष्ठीमा अध्यक्ष ओलीले जनतामा आधारित विचार र दर्शन कहिल्यै नमर्ने उल्लेख गर्नुभयो ।
एमाले अध्यक्ष ओलीले मदन भण्डारीले जीवनको छोटो समयमा नेपाली राजनीतिमा अतुलनीय योगदान दिएको र कला, साहित्यमा पनि आफ्नो प्रतिभा देखाएको बताउनुहुँदै साहित्य सृजना गर्नेले व्यक्तिगत आनन्दका लागि मात्रै नभई आम जनताको हित र रुपान्तरणका लागि गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा जननेता भण्डारीको व्यक्तित्वबारे प्रा.डा. रमेशप्रसाद भट्टराई प्रस्तुती गर्नुभएको थियो ।
त्यस्तै गरी नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति डा. जगमान गुरुङले मदन भण्डारीले नेपाली साहित्यमा दिएको योगदान राजनीतिक सक्रियताका कारण ओझेलमा परेको बताउनुभयो ।
कार्यक्रममा भण्डारीका कविता नाट्य रूपान्तरण पनि प्रस्तुत गरिएको थियो ।
यस अवसरमा प्रतिष्ठानले प्रकाशन गर्दै आएको ‘शार्दूल’ पत्रिकाको छैटौँ अङ्कको लोकार्पण पनि गरिएको थियो ।








प्रतिक्रिया राख्नुहोस्