तपाईँ सुन्दै हुनुहुन्छः

रक्षा सचिवद्वारा कङ्गोमा तैनाथ सैनिक फौजको निरीक्षण भ्रमण

काठमाडौँ । रक्षा सचिव किरणराज शर्मा नेतृत्वको टोलीले संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनार्थ कङ्गोमा तैनाथ नेपाली सेनाका युनिटहरूको अपरेशनल तथा बन्दोबस्ती पक्षहरूको निरीक्षण भ्रमण गरेको छ ।

सचिव शर्माको नेतृत्वमा यही १८ गते छ सदस्यीय टोली कङ्गो प्रस्थान गरेको थियो । भ्रमण दलले उक्त मिसनको महासचिवका उपविशेष प्रतिनिधि खासिम डाइग्ने तथा अन्य अधिकारीसँग भेटघाट गरेको नेपाली सेनाको सैनिक तथा जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

भेटघाटका दौरान त्यहाँको मिसनका अधिकारीहरूले नेपाली शान्ति सैनिकले मिसनको म्यान्डेट अनुरुप प्रदर्शन गरेको व्यावसायिकता तथा योगदानको उच्च प्रशंसा गर्नुभएको थियो ।

सोही क्रममा रक्षा सचिव शर्माले भविष्यमा समेत नेपालले विश्व शान्ति कार्यमा योगदान पुर्‍याउने कार्यलाई प्राथमिकताका साथ निरन्तरता दिने नेपाल सरकारको नीतिबारे जानकारी गराउँदै शान्ति स्थापनार्थ तैनाथ फौजका विविध कठिनाइका विषयमा संयुक्त राष्ट्रसङ्घको तर्फबाट हुनुपर्ने पहलका बारे ध्यानाकर्षण गराउनुभएको थियो ।

हाल उक्त मिसनमा नेपाली सेनाका तीनवटा छुट्टाछुट्टै युनिट तैनाथ रहेका छन् भने स्टाफ अधिकृत तथा सैनिक पर्यवेक्षकसहित कुल एक हजार एक सय ५४ जना नेपाली शान्ति सैनिक तैनाथ छन् । भ्रमण दलमा रक्षा सचिवसँगै उपरथी प्रेमध्वज अधिकारी लगायत रक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय र नेपाली सेनाका रथी वृन्द तथा अधिकृतहरू संलग्न हुनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button