विपक्षीको अवरोधले संसदका दुवै सदनको बैठक अवरूद्ध

काठमाडौं । विपक्षी दलहरूको अवरोधका कारण आज संघीय संसदका दुवै सदनको बैठक अवरूद्ध भएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालले अस्ति सोमबार व्यवसायी प्रितम सिंहको पुस्तक विमोचनका अवसरमा दिनुभएको अभिव्यक्तिलाई लिएर प्रतिपक्षी दलहरूले विरोध जनाएपछि आजको प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएका हुन् ।
दिउँसो साढे २ बजेका लागि बोलाइएको राष्ट्रियसभाको बैठकको सुरुमा नेकपा एमालेका सांसद देवेन्द्र दाहालले प्रधानमन्त्रीले राजीनामा नदिएसम्म बैठक चल्न नदिने बताउनुभयो ।
प्रतिपक्षीको अवरोधपछि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले दिउँसो ३ बजे सम्मका लागि बैठक स्थगित भएको घोषणा गर्नुभयो ।
तर बैठक सुचारु गर्ने विषयमा दलहरूबीच सहमति जुट्न नसकेपछि संघीय संसद सचिवालयले सूचना टाँस गरी भोलि दिउँसो १ बजे सम्मका लागि बैठक स्थगित जानकारी गरायो ।
यस्तै दिउँसो ३ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठकको सुरुमा नेकपा एमालेका सांसद रघुजी पन्तले व्यवसायी प्रितम सिंहको पुस्तक विमोचनका अवसरमा प्रधानमन्त्रीले दिनुभएको अभिव्यक्तिले देशको शिर निहुरिएको भन्दै नैतिकताका आधारमा राजीनामा दिनुपर्ने माग गर्नुभयो ।
सांसद पन्तले प्रधानमन्त्रीले राजीनामा नदिएसम्म संसद् अघि बढ्न नदिने बताउनुभए पनि सभामुख देवराज घिमिरेले सांसद छिरिङ ल्हामु लामालाई बोल्न समय दिनुभयो ।
त्यसपछि एमालेका सांसदहरूले उठेर नाराबाजी सुरु गरेपछि सभामुखले आधा घण्टाका लागि बैठक स्थगित गर्नुभयो । आधा घण्टाका लागि स्थगित भएको बैठक हाल सम्म बस्न सकेको छैन ।








प्रतिक्रिया राख्नुहोस्