कृषिको क्षेत्रको विकासका लागि कृषिमा आधुनिकीकरण आवश्यक : राजदूत गोडेर

टीकापुर, कैलाली । नेपालका लागि इजरायली राजदूत हनान गोडेरले नेपालमा कृषिको क्षेत्रको विकासका लागि कृषिमा आधुनिकीकरण गर्नु पर्ने बताउनु भएको छ । बुधबार टीकापुरमा भएको लर्न एण्ड अर्न कार्यक्रमको छलफलमा राजदूत गोडेरले पुरानो प्रविधिले कृषि कर्म गर्दा लागत बढी लाग्ने र त्यसबाट नाफा कम हुने भएकाले जबसम्म कृषिलाई आधुनिकीकरण गरिँदैन तबसम्म कृषिको विकास नहुने बताउनु भयो ।
नेपालमा कृषि योग्य जमिन धेरै भएको, कृषि क्षेत्रमा काम गर्ने जनसङ्ख्या ६० प्रतिशत भएपनि कृषिमा आत्मनिर्भर नहुनुको कारण कृषिलाई आधुनिकीकरण गर्न नसक्नु भएको बताउनु भयो । नेपालको ६० प्रतिशत जनसङ्ख्या कृषिमा काम गर्ने भएपनि बाहिरबाट खाद्यान्न आयात गर्नुपर्छ तर इजरायलमा २ प्रतिशत जनसङ्ख्याले मात्र कृषि क्षेत्रमा काम गर्छ तर खाद्यान्न निर्यात गर्छ, यो सबै सम्भव कृषि आधुनिकीकरणले गराएको बताउनु भयो ।
लर्न एण्ड अर्न कार्यक्रम अन्तर्गत टीकापुर बहुमुखी क्याम्पसमा कृषि विज्ञान सङ्कायमा अध्ययनरत ५० जना विद्यार्थीहरू इजरायल जाने भएका छन् । सुदूरपश्चिम विश्वविद्यालय र इजरायली राजदूतावासको सहकार्यमा विद्यार्थी एक्सचेन्ज कार्यक्रम मार्फत उनीहरू इजरायल जाने भएका हुन् ।
चौथो वर्षमा अध्ययनरत ५५ जना विद्यार्थीहरूले निवेदन दिएकोमा त्यसबाट छनोट गरेर ५० जना विद्यार्थीहरूलाई ११ महिनाको लागि इजरायल पठाउन लागेको सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायका डिन लालप्रसाद अंगाईले जानकारी दिनुभयो ।
इजरायल कृषि आधुनिकीकरणमा अगाडी भएकाले त्यहाँ गएर यहाँका विद्यार्थीहरूले त्यहाँको कृषि प्रावि सिकुन भन्ने उद्देश्यले यो कार्यक्रम अगाडी बढाएको बताउँदै डिन अंगाइले विद्यार्थीहरूले राम्रो कुरा सिकेर आउने बताउनुभयो ।
त्यहाँ जाने विद्यार्थीहरूले आफ्नो जाने प्लेन टिकट आफैले काट्नु पर्ने र अन्य खर्च विश्वविद्यालय तथा दूतावासको सहकार्यमा गरिनेछ । विद्यार्थीहरूले त्यहाँ गएपछि ११ महिनासम्म साताको एक दिन पढ्ने, ५ दिन काम गर्ने र एक दिन आराम गर्न पाउनेछन् ।








प्रतिक्रिया राख्नुहोस्