तपाईँ सुन्दै हुनुहुन्छः

बाग्मती करिडोरमा रहेका अव्यवस्थित बसोबास तत्काल हटाउन पूर्वाधार विकास समितिद्वारा सरकारलाई निर्देशन 

काठमाडौँ । प्रतिनिधिसभाको पूर्वाधार विकास समितिले बाग्मती करिडोरमा रहेका अव्यवस्थित बसोबास तत्काल हटाएर बाग्मती सुधार आयोजनाका कामलाई तीव्र गतिमा अघि बढाउन सरकारलाई निर्देशन दिएको छ । 

समितिको आज बसेको बैठकले बाग्मती करिडोरमा बसोबास गर्दै आएका वास्तविक सुकुम्बासी पहिचान गरी स्थान्तरण गर्न र अन्यलाई तत्काल हटाउन निर्देशन दिएको हो । 

समितिले काठमाडौँ उपत्यकाका १८ वटै स्थानीय तहमा घरजग्गा पास गर्दा लिएको कर बापतको थप रकम अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिको कोषमा जम्मा गर्न समेत सरकारलाई निर्देशन दिएको छ । 

बैठकमा शहरी विकास मन्त्री सिता गुरुङले बाग्मती सुधार आयोजनाको प्रगतिबारे जानकारी गराउँदै आशा गरे अनुसारको प्रगति प्राप्त गर्न नसकिएको स्वीकार गर्नुभयो । 

मन्त्री गुरुङले अधिकार सम्पन्न भनिएपनि ‘अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समिति’को क्षेत्राधिकार स्पष्ट नभएको भन्दै टालटुले ढङ्गबाट काम अघि बढिरहेको बताउनुभयो । 

बैठकमा मन्त्री गुरुङले पूर्वाधार विकासमा मन्त्रालयगत समन्वयको अभावका कारण अन्य आयोजनाहरू जस्तै बाग्मती सुधार आयोजना पनि प्रभावित भइरहेको जानकारी दिनुभयो । 

शहरी विकास मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले बाग्मती सुधारमा अव्यवस्थित बसोवासी जटिल बनेको भन्दै सरकारले वास्तविक सुकुम्बासीलाई अपार्टमेन्ट दिएर स्थान्तरण गर्न खोजे पनि त्यसो गर्न नसकिएको बताउनुभयो । 

सचिव श्रेष्ठले बाग्मती किनारका बस्तीमा २० प्रतिशत जति मात्र सुकुम्बासी रहेको र ८० प्रतिसतले सरकारी जग्गा कब्जा गरिरहेको तथ्याङ्क रहेको जानकारी दिनुभयो । 

सांसदहरुले अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले २९ वर्षदेखि  बाग्मती सुधारका लागि आयोजना चलाएपनि प्रगति निराशाजनक रहेको भन्दै खर्चको हिसाब सार्वजनिक गर्नुपर्ने बताउनुभयो । 

सांसदहरुले बाग्मती सुधार आयोजनाका नाममा १४ अर्ब लगानी भइसकेपनि त्यसको प्रगति निरासाजनक रहेको र आयोजना सबैभन्दा बढी भ्रष्टाचार र राज्यको सम्पत्ति दुरुपयोग हुने अखडा बनिरहेको बताउनुभयो । 

बाग्मती सुधार आयोजना प्रमुख रविन्द्र बोहोराले बाग्मती किनारका अव्यवस्थित बसोवासीका कारण काम सहज ढंगले अघि बढाउन नसकिएपनि बाग्मती सुधारका कामहरू नियमित भइरहेको जानकारी दिनुभयो । 

आयोजना प्रमुख बोहोराले सुकुम्वासीलगायतका कारण काममा सोचेजस्तो प्रगति हुन नसके पनि आयोजनाले कामै गरेन भन्ने अवस्था नरहेको बताउनुभयो । 

अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले बाग्मती लगायत त्यसका सहायक नदी लगायत उपत्यकाका नदीहरूलाई सरसफाई, सौन्दर्यीकरण र त्यस आसपासका करिडोरहरु निर्माण र विकासका कामहरू गर्दै आएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button