मासुबाट सुकुटी र अचार बनाउने तालिम

सुनसरी । नेपालमा सुकुटीसँगै सुकुटीबाट बनेको अचारको माग अत्यधिक भएपनि माग धान्न नसकिरहेको अवस्थामा महिलाहरूलाई लक्षित गरी राँगाको मासुबाट सुकुटी र अचार बनाउने तालिम प्रदान गरिएको छ ।
सुकुटीको माग अत्यधिक छ । सुकुटीसँगै यसको अचारको समेत माग बढ्दै गएको छ । माग अनुसारको परिमाण नहुँदा माग धान्नै कठिन छ । धरानमा मात्र यसको माग दैनिक १ हजार केजीसम्म रहने गरेको छ । सुकुटी उत्पादन गरेर महिलाहरूलाई व्यवसायी बनाउन धरान ७ सिद्धि नेवा परिषद्मा ‘सात दिने सुकुटी बनाउने तालिम दिएको हो ।

यो तालिममा व्यवसायमा संलग्न महिलाहरू सहभागी भएका कारण तालिम प्रभावकारी भएको स्वयम् तालिममा सहभागीहरूले बताएका छन् । गृह श्रमिक महिला ढाका लघु संस्थाबाट तालिममा प्रतिनिधित्व गर्नुभएकी कमला लिम्बुले व्यावसायिक बन्नकै लागि तालिम लिएको बताउनुभयो । उद्यमी महिलाहरूको समूहले सञ्चालन गर्दे आएको धराने ढाका तथा कोसेली घरको एक प्रतिनिधि पात्र रहनु भएकी लिम्बुले घरमा बसी बसी महिलालाई व्यावसायिक बन्न सहयोग पुग्ने भएकोले यो तालिममा सहभागी भएको बताउनुभयो ।
धरान १५ की विद्या देवानले महिलाहरूले घरमै बसेर आय आर्जन गर्न सुकुटीको अचार बनाउने तालिमले सहयोग पुग्ने भएर आफू तालिममा सहभागी भएको बताउनुभयो । सुकुटीको अचार बनाएर व्यावसायिक बन्ने सुनौलो अवसर मिलेकोले तालिममा सहभागी भएको उहाँले बताउनुभयो । उहाँले बनाउने तरिका, प्याकेजिङ गर्ने तरिका अपनाएर अगाडि बढ्न सके व्यावसायिक बन्न धेरै मद्दत पुग्ने बताउनुभयो ।

महिलालाई लक्षित गरी प्रदेश सरकारको सांसद कोषको बजेटबाट यो तालिम दिइएको तालिममा नेवा द्य दवु धरानले सहयोग पुर्याएको छ । विशेष गरी राँगाको सुकुटीको परिकार नेवार समुदायमा बढी प्रचलनमा ल्याउने गरे पनि सबै समुदायमा पुर्याएर व्यावसायिक बनाउने उद्देश्यले नै तालिमको आयोजना गरिएको नेवा द्य दवु धरानका अध्यक्ष मनोहर शाक्यले बताउनुभयो । उहाँले महिलाहरूले सहज रुपमा घरमै बसेर आर्थिक उपार्जनको माध्यम बन्नका लागि यो तालिम उपयोगी बन्ने बताउनुभयो ।
तालिममा २५ जना महिलाहरू सहभागी छन् । सुकुटी र सुकुटीबाट बनेका अचारहरू नेपालमा मात्र हैन विदेशमा समेत माग बढ्दै गएको छ । यसको तालिममात्र हैन व्यावसायिक बन्नका लागि सरकारले लगानी गर्न समेत जरुरी छ ।


प्रतिक्रिया राख्नुहोस्