तपाईँ सुन्दै हुनुहुन्छः

छाडा पशुचौपाया छोड्ने पशुधनीलाई उपमहानगरपालिकाले कारबाही गर्ने

बाँके । नेपालगन्ज उपमहानगरपालिकाले सडकमा छाडा पशुचौपायाको बिगबिगीलाई न्यूनीकरण गर्न कडा नीति अपनाएको छ । छाडा पशु चौपायाका कारण सडक दुर्घटना हुनेभएकोले सडकमा खुलेआम पशु छोड्ने पशुधनीलाई उपमहानगरपालिकाले कडा कारबाही गर्ने भएको हो । एनिमल नेपालको आयोजनामा मङ्गलवार नेपालगन्जमा गरिएको घोडा, खच्चड धनीहरुसँगको गोष्ठी तथा अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले छाडा पशुधनीलाई कडा कारबाही गरिने नीति ल्याएका छौँ यसमा पशुधनीले साथ दिनु पर्ने बताउनुभयो ।

छाडा पशुहरूको कारण नै नेपालगन्जमा सडक दुर्घटना तथा शहर दुर्गन्धित हुने भएको बताउँदै पशुहरूलाई व्यवस्थित तरिकाले व्यवस्थापन गर्न नगरप्रमुख विष्टले आग्रह गर्नुभएको छ ।

सडकमा छोडिएका छाडा पशु चौपायाका कारण सडक दुर्घटना भएमा पशु नभई पशुधनी नै जिम्मेवार हुनुपर्ने उहाँले बताउँदै पशु धनीले छाडा पशुलाई व्यवस्थित नगरेमा असोजपछि राज्यबाट पाउने सेवा सुविधा बन्द गर्ने जानकारी गराउनुभयो ।
इडब्लूपी परियोजनाका संयोजक डा।दीपेन्द्र शाहले सडकमा धेरै देखिने पशु घोडा गाई र कुकुर रहेको बताउँदै पशुधनीहरु गैर जिम्मेवार भएर पशुहरू छाडा रूपले सडकमा देखिने गरेको जानकारी गराउनुभयो । उहाँका अनुसार पशुबाट कुनै आर्थिक लाभ लिन नसक्दा र पशु अशक्त, बढौली लाग्यो भनेर पशु धनीले छाडा पशु छोड्ने भएकोले सडकमा देखिने गरेका छन् । छाडा पशुका कारण सडक दुर्घटना हुन गई कसैको ज्यान गएमा पशुधनीलाइ १ बर्ष कैद र १० हजार रुपैयाँ जरिवाना अथवा दुवै सजाय समेत हुने डा‍ शाहले बताउनुभयो ।

सडकमा छाडा पशु छोड्ने एक र बदनाम हुने आफूहरू भएको कार्यक्रममा उपस्थित पशुधनीहरुले गुनासो सुनाएका थिए । घोडा, खच्चड, गधा पाल्ने परिवारको सर्वेक्षण र सडकमा छाडिएका पशु कसका हुन् भन्ने पत्ता लगाउने प्रवृत्तिको बिकास नहुँदा आफूहरू सास्ती खेप्दै आउनुपरेको उहाँहरूले बताउनुभयो ।

बाँकेमा ६ करोड ८८ लाख बजेट पशु कल्याणका लागि बिनियोजन गरिएको छ भने नेपालगन्ज उपमहानगरपालिकाले सडकमा देखिने गाईहरूलाई व्यवस्थापन गर्न सम्झौता गरिसकेको छ ।

एनिमल नेपालका वरिष्ठ पशु चिकित्सक डा.अतिस कुमार यादवको अध्यक्षतामा भएको उक्त कार्यक्रममा एनिमल नेपालका फिल्ड अफिसर शारदा चौधरी, कम्युनिटी एजुकेटर रसिद अलि कसगर लगायत सय जना बढी पशुधनीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button