तपाईँ सुन्दै हुनुहुन्छः

दोहोरो नागरिकता बनाउने महिला र उनका पति प्रहरीको नियन्त्रणमा

बैतडी । बैतडीकी एक महिलाले फरक–फरक नामबाट २ नागरिकता लिएको पाइएको छ । उनको पहिलो नागरिकतामा रोडिदेवल गाविस–६ बैतडी ठेगाना उल्लेख गरिएकोमा दोस्रो नागरिकतामा भिमदत्त नगरपालिका–५ कञ्चनपुर उल्लेख गरिएको छ ।  

उनको २ नागरिकता मात्रै नभई २ नाम, २ पती र जन्ममिति समेत २ फरक–फरक उल्लेख भएको पाइएको छ । 

उनको पहिलो नागरिकतामा नाम किस्मती देवी चन्द, ना.प्र.न.७३३०१३/४३४, जारी मिति २०६३/१०/८ बैतडी, जन्ममिति २०४६/५/२५ र पतिको नाम वीरेन्द्र चन्द उल्लेख गरिएको छ । 

यसैगरी दोस्रो नागरिकतामा नाम कलावती चन्द, जन्ममिति २०३९/११/१०, ना.प्र.न. ७५१००१/१३१२६, जारी मिति २०६७/४/२० कञ्चनपुर र पतिको नाम गम्भीर चन्द तथा ठेगाना भिमदत्त नगरपालिका–५ कञ्चनपुर उल्लेख गरिएको छ । 

२ नागरिकताका विषयमा वैशाख २८ गते कञ्चनपुरमा मुद्दा दर्ता भएपछि उनलाई कञ्चनपुर झिकाई प्रहरीले अनुसन्धान गरिरहेको छ । 

अहिले दोहोरो नागरिकता लिने चन्दमाथि कारबाही प्रक्रिया अघि बढेको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता लोकराज जोशीले भन्नुभयो, ‘पक्राउका लागि कञ्चनपुरबाट चिठी आएकोमा हामीले सम्बन्धित चौकीलाई ताकेता गरेको केही समयपछि कञ्चनपुर प्रहरीमा उपस्थित भएको भन्ने खबर आयो । कारबाही प्रक्रिया अघि बढेको छ ।’ उनले दोहोरो नागरिकताको पटक–पटक दुरुपयोग समेत गरेको पाइएको छ ।

कञ्चनपुर प्रहरीले दोहोरा नागरिकता लिने महिला र उनका पतीलाई नियन्त्रणमा राखेको जनाएको छ । पतीले आफ्नो नामबाट नागरिकता बनाएकाले उनलाई समेत पक्राउ गरेको प्रहरीको भनाई छ । सोमबार नियन्त्रणमा लिएका उनीहरूमाथि अनुसन्धानका लागि म्याद थप गरि नागरिकता ऐन अनुसार कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button