अगुवा कृषकलाई हाते ट्याक्टर लगायतका सामाग्री बाँड्दै गाउँपालिका

भोजपुर । भोजपुरको पूर्वी पौवादुङमा गाउँपालिकाले पालिका भित्रका अगुवा कृषकहरूलाई हाते ट्याक्टर लगायतका सामाग्रीहरू वितरण गर्न सुरु गरेको छ । गरिबी निवारण लद्यु उद्यम कार्यक्रम अन्तर्गत कृषकहरूलाई खेती गर्न सहज हुने सामाग्रीहरू वितरण गर्न सुरु गरिएको हो ।
गाउँपालिका क्षेत्र भरी कृषिमा यान्त्रीकरण गर्ने उद्देश्यले पौवादुङमा गाउँपालिकामा रहेका विभिन्न कृषि समूहमा समावेश भएका कृषकहरू र व्यक्तिगत फर्महरूलाई कृषि औजारहरू हस्तान्तरण गर्न थालिएको गाउँपालिकाका अध्यक्ष किरण राईले बताउनुभयो । अध्यक्ष राईले भन्नुभयो, “कृषकहरूले गर्दै आएको काममा थप सहयोग पुगोस् भनेर कृषि सामग्री हस्तान्तरणसँगै आवश्यक प्राविधिक सहयोग गर्दै आएका छौँ । गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ पालिकाले निरन्तर काम गरि रहेको छ ।”
गाउँपालिकाको वडा नम्बर १ श्यामशिलाका १३ अगुवा कृषकहरूलाई मङ्गलवार हाते ट्याक्टर वितरण गरिएको छ । गाउँपालिकाको ८० प्रतिशत अनुदान र कृषक २० प्रतिशत लगानीमा कृषकहरूलाई कृषि सामाग्रीहरू वितरण गरिएको हो । वडाका कृषकहरूलाई सहयोग गरिएको सामाग्रीले खेती गर्न सहज हुने वडाध्यक्ष राजेन्द्र तामाङले बताउनुभयो ।

गाउँपालिकाले वडा नम्बर ६, ठुलोदुम्माका स्थानीय कृषकलाई समेत कृषि सामग्री हस्तान्तरण गरेको छ । वडाका कृषकहरूलाई चार ओटा मिनिटिलर, ३१ ओटा इलेक्ट्रिक स्प्रे, मल्चिङ प्लाष्टिक ४७ थान, १४ थान प्लाष्टिक पोखरी, १५ ओटा प्लाष्टिक टनेल लगायतका कृषि सामग्री वितरण गरिएको छ ।
‘कृषकलाई आवश्यक कृषि सामग्री वितरण गरेका छौँ’ वडाध्यक्ष दक्ष कुमार राईले भन्नुभयो, “गाउँपालिकाको नीति अनुसार कृषकलाई आर्थिकरुपमा सक्षम बनाउने लक्षका रहेको छ ।” स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन, सडक, खानेपानीसँगै भौतिक पूर्वाधारको विकासमा विशेष योजना सहित गाउँपालिकाले कार्य गर्दे आई रहेको गाउँपालिकाले जनाएको छ । महिलालाई समेत कृषि उद्यममा जोड्ने लक्ष सहित गाउँपालिका भित्र रहेका छ वटै वडामा एक लाख बराबरको थप कार्यक्रम समेत सञ्चालन भइरहेको छ ।





प्रतिक्रिया राख्नुहोस्