बारम्बार म्याद थपिएपनि सम्पन्न भएन हुलाकी सडक : वर्षायाममा सास्ती

नवलपरासी । पश्चिम् नवलपरासीको अलपत्र जीर्ण आयोजना मध्येको एक हो हुलाकी सडक खण्ड नारायणचोक देखि त्रिवेणी जोड्ने निर्माणाधीन सडक। सडक विस्तारको काम सक्न पटक पटक म्याद थप गरेपनि ठेकेदारले काम नसक्दा सडकको अवस्था जीर्ण बनेको छ । कृषि पर्यटन र उद्योग क्षेत्रको विकासको मेरुदण्डको रुपमा लिइने हुलाकी सडक विस्तारमा भइरहेको ढिलाइले सर्वसाधारण देखि जनप्रतिनिधि सम्म आजित मात्रै होइन आक्रोशित भएका छन् ।
२०७६/०८र०१ मा झन्डै ५८ करोड ठेक्का सम्झौता भएको नारायणचोक देखि त्रिवेणी जोड्ने १६ किलोमिटर सडक थपिएको म्याद अनुसार गत मङ्सिर सम्म काम सक्नुपर्नेमा निर्माण कम्पनी बज्रगुरु महालक्ष्मी जेभिले हाल सम्म ८० प्रतिशत काम सकेको दाबी गर्दै आएपनी स्थलगत रुपमा न्यून प्रतिशत मात्र काम सकेको देखिन्छ । पटक पटक म्याद थप गरेर समेत काम नसकेको कम्पनीले उल्टै विभिन्न बहाना बनाउँदै आइरहेको छ । अहिले वर्षातको समयमा उक्त बाटोको यात्रा निकै कष्टप्रद र जोखिम पूर्ण बनेको छ।ठुला मालवाहक सवारी साधन गुड्दा बाटो जताततै खाडल बनेको छ ।
‘सवारी साधन लिएर हिँड्दा पनि ज्यानकै बाजि लाएर हिँड्नु पर्ने अवस्था आयो वर्षातमा झन हिलाम्य भएको छ थुप्रै दुर्घटना भए कसैले चासो दिएनन्’ स्थानीय प्रशन्न अधिकारीले भन्नुभयो–पटक पटक ध्यानाकर्षण गरायौ,आन्दोलन गर्यौ सुनुवाई भएनन् ।

निर्माणको जिम्मा पाएको कम्पनीले उक्त सडकमा अत्यधिक मात्रामा माटो मिसावट भएको मिस्कट प्रयोग गरेका कारण बुद्ध बस्ती देखि गोपिगन्ज हुँदै बेलाटारीसम्मको सडक खाल्डा खुल्डीले थप अस्तव्यस्त बनेको स्थानीयको भनाई छ ।सवारी साधन र पैदल यात्रीको अत्यधिक चाप रहने यहाँको दक्षिणी क्षेत्र प्रतापपुर–२ मा रहेको गोपिगन्ज बजारको मुख्य सडक खाडल, पानी र हिलोले हिँडिसक्नु छैन । यो बाटोको अवस्थाले यहाँका व्यापारी आजित बनेका छन् । ‘सरोकारवाला सबै यही बाटो हिड्छ्न तर यो बाटोले उनीहरुलाई गिज्याउँदा समेत उनीहरू समेत मुख दर्शक छन्’ गोपिगन्जका व्यवसायी केशव चापागाईँले भन्नुभयो, यो बाटोकै कारण कुनै दिन ठूलो क्षति हुनेछ त्यसको जिम्मा कस्ले लिने ?
सडक निर्माणको अनुगमन तथा नियमन गर्ने सरोकारवाला ठेकेदार कम्पनीको प्रभावमा परि मौन बस्दा असारे बिकास निर्माणको नमुना अहिले छरप्रष्ट भएको स्थानीयको आरोप छ ।यता हुलाकी सडक आयोजनाका इन्जिनियर युवराज पाण्डेले भने स्टक्चर सहित ८० प्रतिशत काम सकिएको दाबी गर्नु भएको छ भने हालसम्म २६ ५ मात्र भुक्तानी दिइएको उहाँको भनाई छ ।अझै १३ वटा स्ल्याप सहितका पुल कल्भर्ट बनाउन बाकी रहेको पाण्डेको भनाई छ । वर्षातका कारण हाललाई काम रोकिएपछि खाल्डाखुल्डीले थप समस्या उत्पन्न भएको छ ।
कमसल कच्चा पदार्थका कारण पछि सडक कालोपत्रे बनेपनि छिटै फुटेर जाने होकि भन्ने स्थानीयको चिन्ता छ । बारम्बार सरोकारवाला निकाय, स्थानीय सरकार, प्रहरी संघीय सांसद, प्रदेशसभा सदस्य, स्थानीय जनप्रतिनिधिलाई प्रत्यक्ष एवं सामाजिक सञ्जाल मार्फत ध्यानाकर्षण गराउँदा समेत कुनै निकायबाट वास्ता नगरिएको आम स्थानीयको जनगुनासो छ। उक्त सडककै कारण थुप्रै दुर्घटना समेत भैसकेका छन् भने यात्रा गर्ने जो कोहीका लागि पनि यो सडक काल को मुख जस्तै बनेको छ ।जीर्ण बाटोको अवस्थाकै कारण व्यापारमा समेत कमी आएको व्यवसायीको गुनासो छ ।ठेकेदारलाई कालो सूचीमा राखेर कारबाही गर्नु पर्ने आक्रोशित स्थानीयको भनाई छ ।
यता यस क्षेत्रका सांसद विनोद चौधरीले भने यस विषयमा पटक पटक सम्बन्धित निकाय र सडक विभागलाई ताकेता गरी चाँडो निर्माण सम्पन्न गर्न ठेकेदार पक्ष र सडक आयोजनाका प्रतिनिधि राखेर पहल गरेको बताउनुभयो ।









प्रतिक्रिया राख्नुहोस्