तपाईँ सुन्दै हुनुहुन्छः

मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत 

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले “मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि विचार गरियोस्” भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । 

बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले राष्ट्रियसभामा उत्पत्ति भएको “मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि विचार गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । 

विधेयकमाथिको सैद्धान्तिक छलफलमा उठेका विषयमा जवाफ दिँदै कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले मिटरव्याजी पीडितको पक्षमा उभिएर सांसदहरूको धारणा आएको र आएका विषय दफावार छलफलमा सुधार गरेर जान सकिने बताउनुभयो ।

छलफलमा भाग लिँदै सांसदहरूले मिटर व्याजीलाई न्याय दिने गरी विधेयक आउनुपर्ने भन्दै अन्तिम समयमा आएर हतारमा विधेयक पास गर्न नहुने बताउनुभयो । 

सांसदहरूले राष्ट्रियसभाले फास्ट ट्र्याकमा विधेयक पास गरेको र प्रतिनिधिसभामा पनि समय सकिन लागेको अवस्थामा छलफल गर्न लागिएको भन्दै सबै पीडितलाई न्याय दिने गरी कानुन बन्नु पर्नेतर्फ सबैको ध्यान जानुपर्ने बताउनुभयो ।

सांसदहरुले सरकारी र प्राइभेट बैङ्क गाउँ गाउँमा स्थापना गरी सहज रुपमा ऋण पाउने व्यवस्था गर्न सके ऋणीहरूलाई सहज वातावरण बन्न सक्ने भन्दै मिटरब्याजी जस्ता समस्या समाधान गर्न सकिने बताउनुभयो । 

सांसदहरूले मिटरव्याजी समस्या सम्बोधन गर्न अध्यादेशबाट भएपनि लिएको पहल कदमी सकारात्मक भएको भन्दै अनौपचारिक हिसाबले हुने आर्थिक कारोबारलाई प्रभावकारी बनाउन परिस्थिति अनुसार कानुन निर्माण गर्दै अगाडी बढ्नुपर्ने बताउनुभयो । 

सांसदहरूले स्थापित राजनीतिक दलका नेताहरूकै संरक्षणमा मिटर ब्याजी समस्या बढिरहेको आरोप लगाउँदै वित्तीय पहुँचमा आम नागरिकलाई पुर्‍याउनु आवश्यक रहेको औँल्याउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button