तपाईँ सुन्दै हुनुहुन्छः

अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुल्न थप ४ घण्टा लाग्ने 

चितवन । अविरल बर्षाका कारण नारायणगढ–मुग्लिन सडकमा पहिरो खस्ने क्रम रोकिएको छैन । 

पहिरो पन्छाएर आंशिक रुपमा सडक सुचारु गरिँदै आए पनि पटक पटक पहिरो खस्दा पुनः नारायणगढ मुग्लिन सडक अवरुद्ध बनेको हो  । 

शनिबार ईच्छाकामना वडा नम्बर ५ स्थित तीन नम्बरमा पुलमा ५ः०० बजे पहिरो खसेको थियो । उक्त स्थानमा पुनः पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक दुईतर्फी नै अवरुद्ध भएको हो । 

हाल दुई वटा लोडर र एउटा एक्जाभेटरले पहिरो पन्छाउने काम भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख राजकुमार तामाङ्गले जानकारी दिनुभयो । थप पहिरो नखसे बेलुका ४ बजेसम्म पहिरो पन्छाएर सडक सुचारु गर्न सकिने उहाँले बताउनुभयो । 

लामो समयसम्म बाटो अवरुद्ध भएपछि मुग्लिन तर्फबाट आउने सवारीलाई मुग्लिनबाट एकतर्फी रुपमा र नारायणगढ जाने सवारीलाई जुगेडीबाट एकतर्फी लेनमा सवारी लामबद्ध राखिएको उहाँले जानकारी दिनुभयो । पहिरोले बिजुलीको तारसहितको पोल समेत ढलेकाले बाटो पन्छाएपछि पोल हटाइने उहाँले जानकारी दिनुभयो । 

सोही स्थानमा गत बिहीबारदेखि पटक–पटक पहिरो खस्दा सडक अवरुद्ध हँुदै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button