तपाईँ सुन्दै हुनुहुन्छः

सडक दुर्घटना रोक्न पूर्वपश्चिम राजमार्गमा आकस्मिक निरीक्षणसँगै जाँच 

बाँके । राजमार्गहरूमा सवारी दुर्घटना हुने क्रम नरोकिएपछि बाँके ट्राफिक प्रहरीले आकस्मिक निरीक्षणसँगै जाँच गर्न थालेको छ। 

सवारी साधनको गति र लामो दूरीका बसमा दुई जना चालक राख्नुपर्ने प्रावधानको पालना भए नभएको बुझ्न पूर्वपश्चिम र रत्न राजमार्ग क्षेत्रमा चल्ने सबै प्रकारका गाडीहरूको प्रहरीले आकस्मिक जाँच सुरु गरेको हो ।

ट्राफिक प्रहरीले लामो दूरीमा चल्ने रात्रि र दिवा सेवा बसमा अनिवार्य दुई जना चालक राख्ने मापदण्ड बनाए पनि त्यसको कार्यान्वयन हुन सकेको छैन । जसका कारण चालकहरूमा थकान हुँदा दुर्घटना निम्तने खतरा भएको र सुत्न नपाइ लामो समयसम्म गाडी चलाउनु पर्ने बाध्यता, तीव्र गति लगायतका कारणले सवारी दुर्घटना हुने गरेको प्रहरीको अध्ययनले बताउँछ । यिनै कारणलाई रोक्न बाँके ट्राफिकले पूर्वपश्चिम राजमार्गमा आकस्मिक निरीक्षणसँगै जाँच गर्दै चालक र गाडीको अवस्थाको समेत निगरानी गर्न थालेको ट्राफिक कार्यालय बाँकेका प्रमुख तिलक सुनारले बताउनुभयो ।

पूर्वपश्चिम राजमार्गमा पर्ने बाँकेको चप्परगौडि, सुनवल, नाकढुंगा, सर्लाहीमा मोबाइल एफमार्फत लामो दुरीमा दुई जना चालक भए नभएको निरीक्षण गर्ने व्यवस्था छ । तर यसको कार्यान्वयन भने शून्य जस्तै छ । जसका कारण दुर्घटनाको जोखिम कायमै छ ।

यो जोखिम न्यूनीकरण गर्न ट्राफिक प्रहरीले ठाउँ ठाउँमा स्पिड राडार गणद्वारा गति मापन गरेर चालकलाई कारबाही गर्ने गरिएको ट्राफिक कार्यालय बाँकेका वरिष्ठ प्रहरी निरीक्षक ओम पौडेलले जानकारी गराउनुभयो । 

चालकले मादक पदार्थ सेवन नगरेर गाडी चलाउने, गाडी गुडाउनु अघि गाडीको पाटपूर्जाको अवस्था ठिक भए नभएको राम्रोसँग जाँच गर्ने, ओभरलोड नहाल्ने हो भने पनि धेरैहद सम्म दुर्घटना न्यूनीकरण गर्न सकिने अधिकारीहरूको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button