तपाईँ सुन्दै हुनुहुन्छः

झापामा एक वर्षमा हात्तीको आक्रमणबाट ७ जनाको मृत्यु, दुई हात्ती मरे

भद्रपुर, झापा । पछिल्लो एक वर्षमा झापामा जङ्गली हात्तीको आक्रमणबाट ७ जनाको मृत्यु भएको छ ।

डिभिजन वन कार्यालय झापाका अनुसार चालु आर्थिक वर्षको हालसम्म एक गैर नेपालीसहित सात जनाको हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।

मृत्यु हुनेमा अधिकांश जंगल आसपासमा घर हुनेहरू र आफ्नै घर–खेतमा जंगलको आक्रमणमा परेका हुन् ।

बाह्रदशी गाउँपालिका–२ का देवीबहादुर अधिकारी आफ्नै जग्गामा घाँस काटिरहेको अवस्थामा हात्तीको आक्रमणको शिकार बने । त्यस्तै, बाह्रदशी–१ का जगतबहादुर भुजेल सामुदायिक वनभित्र घाँस काट्न जाँदै गर्दा हात्तीको आक्रमणमा परे । शिवसताक्षी नगरपालिका–११ की कृष्णमाया भण्डारीलाई घरमै सुतिरहेको अवस्थामा हात्तीले मार्‍यो ।

यस्तै, बुद्धशान्ति गाउँपालिका–४ का भीमबहादुर भट्टराईको मकै बारीमा हात्तीले आक्रमण गरेको थियो । बुद्धशान्ति–५ की सम्झना श्रेष्ठ स्कुटरमा घर जाँदै गर्दा बाटोमै हात्तीले आक्रमण गर्दा मृत्यु भएको थियो । भद्रपुर नगरपालिका–७ का गिरेन कर्माकारलाई हल्दिबारी गाउँपालिका–२ को चिया बगाननजिकै च्याउ टिप्न जाँदा हात्तीले आक्रमण गर्‍यो । दमक–३ का कमैया राई ९गैर नेपाली०–लाई हम्सेदुम्से सामुदायिक वनमा हात्तीले आक्रमण गरेको थियो भने उनको उपचारको क्रममा लाइफलाइन अस्पताल दमकमा मृत्यु भएको थियो ।

यस्तै पछिल्लो एक वर्षमा जिल्लामा दुईवटा हात्तीको मृत्यु भएको कार्यालय प्रमुख मेघराज राईले जानकारी दिनुभयो ।

पछिल्लो पाँच वर्षयता बर्सेनि हात्तीको आक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या बढ्दै गएको पाइएको छ ।

हात्तीको आक्रमणबाट २०७८–७९ मा पाँच जना, ०७७–७८ मा तीनजना, २०७६–७७ मा दुईजनाको मृत्यु भएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button