तपाईँ सुन्दै हुनुहुन्छः

छेन्दुबाट पोखरा र भैरहवामा नियमित उडान गर्न आग्रह

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालका विभिन्न विमानस्थलमा हवाई उडानको सङ्ख्या वृद्धि गर्न सिचुवान एयरलाइन्सका पदाधिकारीसँग आग्रह गर्नुभएको छ । सिचुवान एयरलाइन्सका अध्यक्ष श्र चुइसँग आज भएको भेटमा उहाँले छेन्दुबाट काठमाडौँमा उडान सङ्ख्या बढाउन तथा पोखरा र भैरहवा विमानस्थलमा नियमित उडान गर्न आग्रह गर्नुभयो ।

सम्पर्क सञ्जालको बढोत्तरीसँगै दुई देशबीचको सम्बन्ध थप प्रगाढ हुने उल्लेख गर्दै उहाँले भन्नुभयो, “यसअघि छेन्दु–ल्हासा–काठमाडौँ उडान थियो, अहिले छेन्दुबाट काठमाडौँ सिधा उडान भएको छ । छेन्दु–काठमाडौँको उडान सङ्ख्या वृद्धि तथा छेन्दुबाट भैरहवामा नियमित उडान गर्न सकियो भने कनेक्टिभिटी बढाउँछ, यसले दुई देशबीचको सम्बन्ध थप प्रगाढ हुन्छ ।”

नेपाल र चीनबीच आर्थिक तथा सांस्कृतिक सम्बन्ध निकै प्रगाढ रहेको उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले दुई देशबीचको सम्बन्धलाई अझ मबजुद बनाउन हवाई सम्पर्क सञ्जालको निकै महत्वपूर्ण भूमिका हुने बताउनुभयो ।

सो क्रममा एयरलाइन्सका अध्यक्ष चुइले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सिचुवान एयरलाइन्सको चाटर्ड उडानमार्फत पोखरा विमानस्थलमा उत्रनु भएको स्मरण गर्नुभयो । उहाँले एयरलाइन्सको बजार विस्तार गर्न आफूहरू तयार रहेको बताउनुभयो ।

त्यस अवसरमा उपप्रधानमन्त्री श्रेष्ठले सिचुवान एयरलाइन्सको अप्रेसन सेन्टरको अवलोकन गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button