तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेको कोहलपुरमा रोपाइँको रौनक (तस्बिरहरू)

बाँके । आज १५ असार अर्थात् २०औँ  धान दिवससँगै दही चिउरा खाने दिनको अवसर पारेर बाँकेको कोहलपुर–३ स्थित मदन चोकमा रोपाइँका विभिन्न रौनकहरू देखिए । 

यस वर्ष जलवायु अनुकूलित कृषकमैत्री प्रविधि धान उत्पादनमा वृद्धि भन्ने नाराका साथ धान दिवस मनाउने क्रममा अखिल नेपाल किसान महासङ्घ कोहलपुर नगर कमिटीको आयोजनामा मदन चोकस्थित मोहम्मद सफि गुजरको सफल कृषि फममा धान रोपाई कार्यक्रम गरिएको हो । 

साढे ३ बिगाहा क्षेत्रफलमा फैलिएको सफल कृषि फममा सहभागीहरूले ब्याड आफै गोडर तयार खेतमा धान रोपेका थिए । पानीको अभावमा पुरै खेत नरोपिए पनि पम्पसेटको पानी प्रयोग गरेर २ कठ्ठा जमिनमा धान रोपिएको सफल कृषि फमका सञ्चालक मोहम्मद सफि गुजरले बताउनुभयो । बाँकी खेतमा पानी परेपछि रोपिने उहाँले बताउनुभयो ।

धान रोपाई कार्यक्रममा सामूहिक खेतीको अवधारणमा खेती गर्न सके नेपाल अन्न उत्पादनमा आत्मनिर्भर हुन सक्ने औंल्याईएको थियो । किसानहरूलाई बेलैमा बिना झन्झट मल बिउ वितरण गरेको खण्डमा कृषि क्षेत्रले फड्को मार्ने भन्दै उक्त दिवसमा सहभागीहरूले स्थानीय सरकारले नै किसानहरूले उत्पादन गरेका कृषि जन्य पदार्थको बजारीकरणमा सहजीकरण गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

कार्यक्रममा अखिल नेपाल किसान महासङ्घका केन्द्रिय सचिव एवं लुम्बिनी प्रदेशका पूर्व भूमि व्यवस्था तथा सहकारी मन्त्री आरती पौडेल, प्रदेश सांसद बसन्ती अधिकारी, कोहलपुर नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष माधव रिजाल, किसान महासङ्घका सदस्य अन्जना धिताल, मोती प्रसाद भुसाल, प्रदेश सचिव चेतन मल्ल, सदस्यहरु सुमन पौडेल, हरि जैसी लगायतको सहभागिता रहेको थियो भने सहभागीहरूले सफल डेरीबाट उत्पादित दही च्युरा खाएर असार १५ मनाएका थिए ।

हाम्रो संस्कृतिमा दहीको स्थान महत्वपूर्ण छ। शुभकार्यका लागि घरबाहिर निस्कने, विदेश जाने आदि महत्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ। यस्ता शुभकाममा निस्कनुअघि सगुनका रुपमा पनि दही खुवाएर बिदाइ गरिन्छ। निस्कने बेलामा दही खाएर हिँडे साइत पर्ने जनविश्वास रही आएको छ।

यसैगरि कोहलपुर नगर कृषिको आयोजनामा कोहलपुर–१५ स्थित प्रसेनीपुरमा धान रोपाई कार्यक्रम सम्पन्न गरिएको छ भने नगर भित्रका गोरखा युनाईटेड, तक्षशिला, ग्रिन पिस रामजानकी  लगायत विद्यालयहरूले विद्यालयको प्राङ्गणमा बिद्यार्थीहरुलाई प्रयोगात्मक रुपमा धान रोपाएर धान दिवस, असार १५ मनाएका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button